🔳 राष्ट्र,राष्ट्रियता,राष्ट्रवाद तथा राज्यको विषयमा नागरिक चेतना अपरिहार्य - Sainokhabar

🔳 राष्ट्र,राष्ट्रियता,राष्ट्रवाद तथा राज्यको विषयमा नागरिक चेतना अपरिहार्य

√भीषन लिङ्देन

विषयप्रवेश(Preface):

झट्ट सुन्दा राष्ट्र,राष्ट्रियता,राष्ट्रवाद र राज्य उस्तै लागे पनि यीनिहरु बीचमा तात्वीक भिन्नता रहेको हुन्छ तथापि एक अर्काबीच अन्तर्निहित सह सम्बन्ध पनि रहेको हुन्छ।हरेक नागरिकको अन्तरकुन्तरमा राष्ट्र राष्ट्रियताको अंश नित्तान्त भावनात्मक तथा अदृष्य रूपमा अन्तर्चेतनाभित्र अन्तर्निहित रहेका हुन्छन् भने सबै नागरिक प्रत्यक्ष परोक्ष रूपमा यसैभित्र समाहित भएका हुन्छन्।यसर्थमा हामी पनि कंही कतै अधिकार र पहिचानको वकालत गर्दै गर्दा राष्ट्र,राष्ट्रियता,राष्ट्रवाद तथा राज्यका विषयमा नै अस्पष्ट,बेखबर र मानसिक उल्झनमा त छैनौ? यसै परिप्रेक्षमा समता,समानता तथा समावेशीता सहितको अधिकार पहिचानलाई प्रतिबिम्बित गर्ने राष्ट्रवाद या राष्ट्रियता हरेक नागरिकको चेतनाभित्र अंकुरण हुन सके मात्र मौजुदा संविधानको अभिष्ट पूरा गर्न टेवा पुग्ने अपेक्षासहित राष्ट्र,राष्ट्रियता र राज्यको विषयमा संक्षिप्त टिप्णणी प्रस्तुत गरिएको छ ।

राष्ट्र(Nation):

कुनै मानव जाति सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक,भाषिक, ऐतिहासिक भावनाबाट एकीकृत मनोविज्ञानलाई राष्ट्र भनिन्छ।अर्को अर्थमा कुनै धर्म,भाषा,जन्म,जातीयता,नष्ल,संस्कृति,परम्परा,क्षेत्र आदिमा सुदूर अतीतदेखी वर्तमान हुँदै भविष्यसम्म साझा अपनत्वको भावनाबाट सृजीत विश्व भूमण्डलमा अलग अस्तित्वको साथ स्थापित मानव समुदाय नै राष्ट्र हो।राष्ट्रको स्वरुप भावनात्मक,अध्यात्मिक एवम् सांस्कृतिक रुपमा भौगोलिक सीमारेखा बाहिरसम्म पनि विस्तारित हुन सक्छ।राष्ट्रले समग्र जनतामा आफ्नो मौलिक पहिचान कायम गर्दै आपसी सामिप्यता र एकताको भावना उत्पन्न गराई मनोवैज्ञानिक रुपमा ऐक्यवद्ध बनाँउदछ।राष्ट्रको क्षेत्रभित्र सबै जनता,सरकार,राष्ट्रिय एकता,अखण्डता,धर्म संस्कृति र सार्वभौमसत्ताको संरक्षण र प्रवर्दन,राष्ट्रिय विभूति,शहीद,राष्ट्रिय प्रतीकको सम्मान,नागरिकता पहिचान,राष्ट्रिय दिवस,सीमा संरक्षण लगायतका राष्ट्रियताका विषयहरू समावेश हुन्छन्।

राष्ट्रवाद(Nationalism):

आफ्नो राष्ट्रको उन्नति र हितलाई सर्वोपरी मान्ने विषयमा उठेको मनोवैज्ञानिक एकता,भक्तिभावनाको अभिव्यक्ति र त्यसैसँग सम्बन्धित चिन्तन वा विचारधारा नै राष्ट्रवाद(Nationalism) हो।यसलाई राजनैतिक दलहरूले विशेष मुद्दा बनाएर जनमत आफूतिर आकर्षित गर्ने गरेको पनि पाईन्छ ।

राष्ट्रियता(Nationality):

कुनै नागरिकमा जन्मजात रूपमा एक पटक उत्पन्न भएपछि अनन्तसम्म रहिरहने अध्यात्मिक एवम् मनोवैज्ञानिक धारणालाई राष्ट्रियता भनिन्छ।राष्ट्र हुनको लागि राष्ट्रियता अनिवार्य हुन्छ।सामाजिक,सांस्कृतिक,आर्थिक,धार्मिक,परम्परागत,भाषिक,राजनैतिक,शासन एवम् भौगोलिक सम्मिलनद्वारा सृजित भावनात्मक एकता नै राष्ट्रियता हो।राष्ट्रियताभित्र राष्ट्रका सबै अवयवहरू समावेश हुन्छन भने यसमा भौगोलिक सीमाको पनि अस्तित्व रहन्छ। कुनै राष्ट्रियता स्वतन्त्र तथा सार्वभौम हुने सदिच्छाको साथ संगठित एवम् एकीकृत रूप नै राष्ट्र हुन्छ। जस्तै नेपालभित्र सगरमाथा पर्दछ,वुद्धको जन्मस्थल लुम्विनी हो,मिचिएका नेपाली भू भाग फिर्ता लिनु पर्छ आदि विषयमा स्वतस्फूर्त प्रफुष्टन हुने मानसिक ऐक्यवद्धता नै राष्ट्रियता हुन्।

राज्य(State):

कुनै निश्चित भौगोलिक, राजनैतिक, सामाजिक,सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक रूपमा संगठित समुदायको एकीकृत रूपलाई राज्य भनिन्छ।राज्यले कुनै निश्चित भौगोलिक ईकाईभित्र वसोवास गर्ने जनसंख्यामाथि सम्प्रभूतासहित स्वतन्त्र ढंगले कानुनी सत्ताको प्रयोग र शासन गर्दछ भने राष्ट्र र राष्ट्रियतालाई संस्थागत र संगठित पनि गर्दछ।राज्य भौतिक एवम् ठोस रुपमा व्यक्त गर्न सकिने अमूर्त,स्थायी सम्प्रभुतासम्पन्न संस्था हो जुन कुनै विशेष राजनैतिक विचार,भावना तथा सिद्धान्तद्वारा निश्चित भूगोलभित्र सन्चालित हुन्छ।राज्यभित्र भूगोल,जनसंख्या,सरकार र सम्प्रभुता जस्ता अनिवार्य तत्वहरू समावेश हुन्छन्।राज्य निर्माण समयसापेक्ष परिवर्तनशील,वैधानिक एवम् राष्ट्र निर्माण कार्यमा निरन्तर चलिरहने प्रकृया हो।

राज्य निर्माणको ऐतिहासिकतालाई हेर्ने हो भने दैवी उत्पति,शक्तिको उत्पति,पितृसतात्मक,मातृसतात्मक उत्पति,सामाजिक सम्झौताबाट उत्पति तथा विकासवादी उत्पति हुँदै समय सापेक्ष सृजित उत्पतिका कालखण्डहरु पार गरेको स्थित देखिन्छ। कुनै समयमा अत्याधिक लोकप्रीय विकेन्द्रीकरण प्रणाली समय सापेक्ष परिवर्तन हुँदै नव सार्वजनिक व्यवस्थापन पछि सुशासनको आयामसम्म आइपुगेको छ जुन वर्तमान परिवेशमा विश्वव्यापी रुपमा सर्वाधिक अपनाईएको राज्य प्रणालीको मान्यतामा पर्दछ।यो मान्यताले लोकतन्त्र,असल राजनीति,दूरदर्शी र स्थिर सरकार,सक्षम ब्युरोक्रेसी,शान्ति अमनचयन कायम तथा लगानीमैत्री वातावरण आदि जस्ता विषयहरूलाई राज्य निर्माणकाे अन्तर्वस्तुको रुपमा लिने गर्दछ।नेपाल एक राष्ट्र पनि हो राज्य पनि हो। नेपालको भौगोलिक सरहदभित्र संघ,प्रदेश र स्थानीय तह गरी ३ किसिमका फरक फरक भौगोलिक सीमाना तथा नियम कानुन सहितको अन्तरसम्बन्धित सरकार र शासन चलेका छन् भने त्यँहा स्थापित नियम कानुनको परिपालना गर्नु सबै नागरिकको कर्तव्य हुन्छ साथै सबै सरकारहरू मूल कानुन संविधानको दायराभित्र रहेका हुन्छन्।हरेक राज्यसँग शासनको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ।तथापि राज्य र शासनबीच वस्तुगत भिन्नता सँगै निकटतम् सम्बन्ध पनि रहेको हुन्छ ।

विसौनी(Epilogue):

हामी अनेकौ ऐतिहासीक कालखण्डहरू पार गर्दै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आईपुगेका छौं।साथमा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै दिगो शान्ति,सुशासन,विकास र संवृद्धिको संकल्पसहितको संविधान पाएका छौं।यस परिप्रेक्षमा संविधानको संकल्प प्राप्तिका लागि हरेक नागरिकमा राष्ट्र,राष्ट्रियता,राष्ट्रवाद र राज्यको विषयमा न्युनतम चेतना हुन जरुरी छ।यी विषयहरूमा जब नागरिक सचेत हुन्छन् तव राष्ट्र,राष्ट्रियता अनि राज्य स्वत:सक्षम,मजवुत र प्रभावकारी हुनेछ साथै शासकहरूमा निरन्तर दवाव र खबरदारी हुनेछ।अनि त्यो राष्ट्रियता र राष्ट्रवादको समष्टी भावना लिपुलेक,लिम्पियाधुरा,कालापानी,सुस्ता लगायतका अनेकौ नेपाली अतिक्रमित भूमि फिर्ता ल्याउन ऐक्यवद्ध हुनेछ।यस्तो नागरिक चेतनाको उर्जाले देशी विदेशी दलाल,नोकरशाही,विखण्डनकारी,विस्तारवादी तथा साम्राज्यवादी तत्वहरूमाथि निरन्तर धावा बोल्दै नेपाल राज्यको राष्ट्र र राष्ट्रियतालाई अक्षूण्ण राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।राष्ट्रिय अखण्डता,स्वाधिनता र सम्प्रभुता सम्पन्न राष्ट्र र राष्ट्रियतालाई सुरक्षित राखेर मात्र अधिकार र पहिचानको खोजी गरिनु आवश्यक हुन्छ। अन्त्यमा..नेपाली हामी रहौंला कँहा नेपालै नरहे….भन्ने देशभक्तिपूर्ण गीतको उद्गार राख्दै बिदा हुन्छु ।

नोगेन

मेहेले, ताप्लेजुङ

(राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत लेखकले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: