लेखिएको कुरा मात्र सहि हुने किरात इतिहास - Sainokhabar

लेखिएको कुरा मात्र सहि हुने किरात इतिहास

√जगत याेङहाङ(याक्थुङ सा) 
🔹१. किरात जातिको उत्पत्ति :
प्रसिद्ध किरात इतिहासकार स्व. इमानसिं चेमजोङको कृति History and culture of kirst people नामक पुस्तकको पृष्ट नं. २ र ३ मा किरात जातिको उत्पत्ति बारेमा इसाई धर्मको बाइबल र एशिरियन जातिको इतिहासलाई सन्दर्भ स्रोत लिएर निम्न अनुसार उल्लेख गरेका छन्:
क. अनुवाद- ” ‘केरेताइत्’ वा केराइट जातिको पूर्खाहरूको अनुसरण गरे ती नाहोरमा आए ती अब्राहमको कान्छो भाई बेबिलोनको उरको बासिन्दा भए । उ सेमेटिक परिवार अन्तर्गत पर्दछन् । जव हेब्रु (यहुदी) समुदायले मोसेजको नेतृत्वमा तिनीहरूको देशउपर आर्कमण गर्यो तिनीहरू पराजित भई मातृभूमिबाट धपाइए । तब ती किरेती जनताहरू फिरन्ते जीवन प्रारम्भ गरी पूर्वतर्फ र उत्तरपूर्वी देशहरूमा फैलिए । २४०० ख्रिष्ट पूर्वमा यसको एउटा शाखा मेसोपोटामिया वा एसिरिया देशमा आयो र असुर समुदायसँग मिसिएर तिनीहरूसँग एउटै जाति भयो । पछि तिनीहरू मेडिया र दक्षिण पर्सियाको निसा भई किरात असुर जातिको उपाधी लिएर उत्तर भारत र हिमाली प्रदेशतिर बसाइँ सरे भनेर इतिहासकारले उल्लेख गरेका छन् ।” माथीको उल्लेखित ऐतिहासिक तथ्यलाई अध्ययन गर्दा इतिहासकारले इसाई धर्मग्रन्थ बाइबलको पुरानो करार उत्पत्ति ग्रन्थको अध्याय ११ देखी २५ बाट र एसिरिया जातिको इतिहास (The history of nations. The assyrians page 271) पेज नं. २७१ बाट उद्धृत गरेका हुन् ।
ख. अनुवाद- त्यसरी नै उक्त पृष्टमा नै पुरानो करार बाइबलको सामुएल २ को किताबको १५ अध्ययको १८ रौं पङ्तीमा किराताइट, चेरेथाइट वा किरेती जाति भनेर लिखित उल्लेख भएको प्रष्ट गर्न खोजेको छ र सामुएल २ को किताबको अध्याय १५ को १८ रौं पङ्तीमा किरेती जाति नै उल्लेख भएको पाइन्छ ।
ग. अनुवाद- पुरानो करार बाइबल दाउदको किताबमा १०४९ ख्रिष्ट पूर्वमा एसिरियाली राजा दाउदको राज्यकालमा तिनीहरू (केरेती) सामरिक जाति थिए भनेर पनि इसाई धर्मग्रन्थ बाइबलबाट नै ऐतिहासिक तथ्यहरू उद्धृत गरिएको छ ।
घ. उक्त पुस्तकको पृष्ट ४४ र ४५ मा निम्न अनुसार ऐतिहासिक तथ्यहरू उल्लेख गरेका छन्:
अनुवाद- “१७५० ख्रिष्ट पूर्वतिर जोनाहको मिसन (बिशेष काममा खटिएर जानु) को सम्बन्धमा पुरानो नियम (करार) बाइबलमा एसिरियन साम्रराज्यको उल्लेख भएको छ । लामो समयसम्म यो सानो क्षेत्र थियो तर युद्ध प्रिय राजाहरूको बंशानुक्रम उत्पन्न भयो जस्तै: पुउल, टिगलेथपिलेसर, सार्गोन, सालमानेसर, सेनाचेरिब र इसाहार्दोन, जसले तिनीहरूको विजय मेडिया, पर्सिया, बेबिलोन, मेसोपोटामिया, प्यालेस्टिन, इजिप्ट, भारत र अरू पूर्वीय देशहरू उपर अगाडि बढाए र बेबिलोन वा बाबेलमा राजधानी निर्माण गरी त्यहाँबाट सबै राज्यको शासन गरे भनेर बाइबलकै बिषयलाई उल्लेख गरेका छन् । त्यसै गरी असुर किरातहरूको राज्यको बारेमा बाइबलकै बिषयलाई फेरी उल्लेख गर्दछन् कि साच्चै प्राचीनकालमा किरात असुर राजाहरूले पृथ्वीको सबै भन्दा शक्तिशाली सार्वभौमसत्ता स्थापित गरेका थिए भनेर ( Biblical Atlas and Scripture Gazetter, p. 8) मा भएको बिषय उल्लेख गरेका छन् ।
ङ. इसाई धर्मको बाइबल र एसिरियन (असुर) जातिको इतिहासको अलवा इतिहासकार स्व. इमानसिं चेमजोङले किरात जातिको उत्पत्तिको इतिहास लेखनको लागि हिन्दुशास्त्रहरू (ऋृगवेद्, महाभारत, रामायण, भारतको प्राचीन इतिहास, योगिनीतन्त्र), चिनको प्राचीन इतिहास, केही बौद्ध साहित्यहरूलाई सन्दर्भ स्रोतको रूपमा लिएर किरात जातिको उत्पत्ति इतिहास लेख्नेको पाइन्छ ।
🔹२. किरात असुर जातिको पतन :
क. किरात असुर जातिको पतनको बारेमा पनि इसाई धर्मग्रन्थ बाइबलकै तथ्यलाई उपरोक्त पुस्तकको पृष्ट ४६ मा निम्न अनुसार उल्लेख गरेका छन्: ” अनुवाद- असुर किरात जातका शिन- शार- इशकुन नाम गरेका एसिरियाली अन्तिम राजाको राजदरवारमा आगलागी हुँदा मरे । यसरी त्यस समयदेखि किरात असुर जनताको एउटा राष्ट्रको बिलिन भयो र तिनीहरूको राज्य ग्रिस, रोम, बेबिलोनिया, पर्सिया, तुर्क र भारतमा बिभक्त भए । धेरै बर्षपछि भारतेली किरात असुर जनता राजनैतिक कारणले हिन्दु राजपुतमा परिवर्तन भए ।” भनेर बाइबल नै आधार मानेर किरात असुरहरूको पतन भएको उल्लेख गरेका छन् जुन ऐतिहासिक तथ्य The New Biblical Atlas P.8 बाट उद्धृत गरी उल्लेख गरेको पाइन्छ ।
ख. एसिरियाली किरात असुरहरूको पतनको बारेमा एसिरियाली जातिको इतिहास (Assyeian History) को पेज नं. २६२- २९६ सम्मको ऐतिहासिक तथ्य उल्लेख गरेका छन:
” अनुवाद- एसिरियन वा असुरभूमिका राजा वानिपालले ६६८ ख्रिष्ट पूर्वमा मिश्र विजय गरे थेबेहरूलाई लुटे र अरवतिर विजय अभियान बढाए तर त्यसै समयमा एउटा नयाँ जाति सिदियेलीले पश्चिम एसियामा चढाई प्रारम्भ गर्यो । ती राजा वानिपालले निनबेहमा एउटा प्रसिद्ध पुस्तकालय स्थापना गर्यो । राजा असुर इतिल इलानीको शासनकाल ६२६ ख्रिष्ट पूर्वमा त्यो नयाँ सिदियेली राजाले किरात असुर साम्राज्यमा आकर्मण गरे र टुक्रा टुक्रा पारे भनेर एसिरियन जातिको इतिहासमा उल्लेख भएको बिषय उल्लेख गरेका छन् ।
ग. हिन्दुमत- किरात असुरहरूको पतनको बारेमा इतिहासकारले भारतीय लेखक पण्डित भागदत्तको बृहत भारतको इतिहास नामक ग्रन्थबाट यसरी उद्धृत गरी उल्लेख गरेका छन् कि: देव र असुरबीचको युद्धदेखि राजा किरात असुरको पतनको प्रारम्भ भयो । राजा चक्रवर्ती सागरको कार्यकालमा सागरले असुरहरूसँग भिषण युद्ध गरे । जो हिमालयको मिश्रित जाति शक, यवन, खम्बो वा खम्बोज, किरात पल्लभ र दारदाहरू थिए । तर राजा सागरको उत्कृष्ट शक्तीद्वारा ती असुरहरू पराजित भए । फेरी त्यसरी नै किरात असुरहरूको पतनको बारेमा लेखक रिचर्ड टेम्पलको पुस्तक History of nations prehistoric India को पेज नं. १४६, १५२ र १५४ बाट उद्धृत गर्दै उल्लेख गरेका छन्: “भारतीय राजपुतहरू आर्यमूलका होइनन् । तिनीहरू प्राचीनकालमा बिदेशबाट आर्कमणकालागि शासक परिवार र तिनको जनताहरूको धेरै समूह उत्तर पश्चिम दिशाबाट आई भारतमा बसे र बहादुरी साथै बिकसित चेतनाको फलस्वरूप आपसमा एक भई एउटा नयाँ जातिको निर्माण भयो । आदिम जनजातिहरू मध्ये धेरै घनिष्ट र शक्तीशालीको सम्बन्धमा पनि प्रकृया लागू भयो । सातौं शताब्दी ख्रिष्टाब्ददेखि ती सबै सम्पूर्णरूपले हिन्दु भए र तिनले हिन्दु धर्म पालना गरे । यसरी शासक परिवारहरू आर्य हिन्दु तहमा लिइएका थिए र क्षत्री भए तर ती किरात असुर जनताहरू जसले तिनीहरूको स्थायी बसोबास पहाडी प्रदेशमा कायम गरे तिनीहरूले मौलिक सँस्कृति र सभ्यता नै पालन गरी बसे ” भनेर यसरी किरात असुर जातिको पतनको बारेमा उल्लेख गरेको पाइन्छ ।
🔹३. लिम्बू जाति किरात हो कि होइन ?
इतिहासकार स्व. इमानसिं चेमजोङको माथी उल्लेखित किरात असुर जातिको उत्पत्ति र पतनको बारेमा बिभिन्न ऐतिहासिक तथ्यहरूको अध्ययन गर्दा इतिहासकारले किरात असुर जातिको उत्पत्ति र पतनको बारेको इतिहास लेखन मुलत: इसाई धर्मको धर्मग्रन्थ बाइबल, हिन्दु धर्मग्रन्थहरू(योगिनीतन्त्र, महाभारत, ऋृगवेद्) लगायतका अन्य ग्रन्थहरू, प्राचीन भारतीय इतिहास, एसिरियन(असुर) जातिको इतिहास, चिनको प्राचीन इतिहास र केही बौद्ध साहित्यहरूलाई सन्दर्भ स्रोतको रूपमा लिएर लेखिएको पाइन्छ । इतिहासकारले मानव जातिको अध्ययन गर्ने शास्त्रहरू: मानव बिज्ञानहरू जस्तै : मानवशास्त्र, समाजशास्त्र, भुगोल, पुरातात्विक अध्ययन, भाषा, रक्तसम्बन्ध साथै प्रागइतिहास जस्ता बिषयहरूलाई बेवास्ता गरेको छ । यसबाट के प्रष्ट हुन्छ भने हामी याक्थुङ (लिम्बू) जाति किरात हो कि होइन ? सातौं शताब्दीमा हिन्दुमत धारण गर्ने असुर जातिहरू हामी लिम्बू जातिका पूर्वज कसरी हुन्छ ? यो बिषय गम्भिररूपले अनुसन्धान हुन अति आवश्यक छ । याक्थुङ (लिम्बू) जाति किरात हो वा होइन भन्ने बिषय लिम्बू जातिको लोक साहित्य मुन्धुमबाट आउनुपर्छ । नत्र हिन्दु ग्रन्थहरूमा उल्लेख भएको किरात र बाइबलमा उल्लेख भएको ‘केरेती’ जातिको चर्चाले लिम्बू जाति किरात हो भन्नु कुनै बैज्ञानिक आधार होइन । कुनै जातिको इतिहास लेखनमा त्यो जातिको साहित्य, मिथक, आख्यान, उपख्यान तथा लोक कथाहरूले पनि इतिहास लेखनमा धेरै टेवा पुर्याउछ । तिनीहरूलाई अलिखित स्रोतको रूपमा लिन सकिन्छ । सायदै लिम्बू जाति भनेको यो भूमिको आदिम जाति हो वा आदिवासी जाति हो । पहिले संसारभरका आदिवासी जातिको लिखित इतिहास नै थिएन । लिम्बू जातिको मात्र लिखित इतिहास नभएको होइन । आर्य तथा पश्चिमा देशका केही जातिहरूको पहिलेदेखि नै लिखित इतिहास भएको हो र उनीहरूको इतिहास लेखनमा बिभिन्न प्रकारका स्रोत सामग्रीहरू उपलब्ध थियो जस्तै: अभिलेख,मुद्रा, कला नमुना, बिदेशीहरूको बर्णनहरूको उल्लेख, बंशावली, पुराणहरू, पुष्पिकावाक्य, ठ्यासफुहरू र ऐतिहासिक चिठ्ठीपत्रहरू हुन् तर आदिवासी जातिको कुनै लिखित दस्तावेज नभएको कारणले पनि आदिवासी जातिको इतिहास लेखनमा अलिखित स्रोतहरू (Oral Ttraditions)नै महत्वपूर्ण हुन्छ । इतिहासमा घटेका कतिपय घटणाहरू सुनी- सुनाई वा भनाईबाट नै जीवित रहेका हुन्छन् । कतिपय प्राचीन कालका, मध्यकालका, घटणाहरूसमेत सुनी- सुनाई कै माध्यमबाट जानकारी पाउन सकिने हुन्छ । नेपालका चाडपर्वहरू, जातिहरूको प्राचीन इतिहास तथा सामाजिक जीवनका कतिपय पक्षहरूको जानकारी समाजमा परम्परागत रूपमा चलिआएका बिश्वासहरूको आधारमा मात्र गर्न सकिन्छ तथापि लिम्बू जातिको पनि प्राचीन इतिहास लिखित रूपमा नभएको यथार्थ हो साथै नवौं शताब्दी यता मात्र लिम्बू जातिको लिपिको बिकास राजा सिरिजङ्गाले आबिष्कार गरेको हो भन्ने अपुष्ट इतिहास छ । इतिहासकारले मुन्धुमको बारेमा किरात इतिहासमा ” खाम्बोङबा र मुनातेम्बे ” यी दुई शब्द मात्र उल्लेख गरेका छन् । खाम्बोङबालाई काशीबंशी किरात भनेर उतै बाइबलमा उल्लेख भएको प्रसंगलाई जोडेर बेबिलोन, पर्सिया वा मेसोपोटामियाबाट घुमन्ते फिरन्ते भएर आएको जाति भनेर उल्लेख गरेका छन् तर खाम्बोङबाको मुन्धुमी अर्थ उता एसिरियाबाट आएको भन्ने अर्थ लाग्दैन र मुनातेम्बेको बारेमा कुनै यकिन स्थानको बारेमा बताइएको छैन । यसको बारेमा कोही कोहीले बेबिलोन, मानसखण्ड, क्यासपियन सागरको छेउ र सिन्युक मुदेन (चिन तिब्बत) भनिएको पाइन्छ । तर हाम्रो याक्थुङ मुन्धुममा ” मुधिङ्गुम लेक्वा, मारूङ्ग फुक्कु, पारूङ्ग फुक्कु वा मना पोङ् तेम्बे” भनेर भन्दै आएको पाइन्छ । फेरी लाशाबंशी किरातको बारेमा पनि इतिहासकार हिन्दुशास्त्र महाभारत कै कथालाई आधार लिएर कामरूपमा राज्य गर्ने नरकासुरको अत्यचार नसहेर अन्यदेश भागेका वा लाशातिर भागेर पुन तल झरेका किरात जातिलाई लाशाबंशी किरात भनेर उल्लेख गरेका छन् । एसिरियाको काशीबाट आएका काशीबंश हुँदा कामरूपबाट भागेका किरात जाति कसरी लाशाबंशी भए ? जसलाई ताङसाङथा भनेर उल्लेख गरेका छन् । त्यसै गरी चिनको प्राचीन इतिहासलाई आधार मानेर ताईस्यान जाति जो चिनको सिचुवान, युन्नानबाट आएका जातिलाई मुनाफेन जाति भनेर उल्लेख गरेका छन् । ताङसाङथा र मुनाफेन मुन्धुममा छैन । त्यसकारण मुन्धुममा नभएको र अन्य जातिको इतिहास तथा अन्य सम्प्रदायको धार्मिक ग्रन्थको आाधारमा याक्थुङ (लिम्बू) जातिलाई किरात भन्नु उचित होइन ।
🔹 अन्तमा :
आदिम लिम्बू जातिको लिखित प्राचीन इतिहास नभएको हुँदा लिम्बू जातिको इतिहास अध्ययन गर्ने प्रमुख स्रोत मुन्धुम नै हो । मुन्धुम नै लिम्बू जातिको अलिखित इतिहास हो । प्रागइतिहास हो । प्राज्ञ बैरागी काइँलाका भनाई अनुसार ” मुन्धुममा हाम्रा पुर्खाले ढुङ्गे युगदेखी कृषि युगसम्म आईपुग्दाका भोगाई, सामाजिक, पारिवारिक, साँस्कृतिक, राजनीतिक तथा आध्यात्मिक मान्यताहरू ज्ञानको रूपमा ब्याख्या गरिएको छ । ” प्राज्ञ ज्यूको उक्त भनाईलाई अध्ययन गर्दा प्रागइतिहासकारहरूका मत अनुसार ढुङ्गेयुग भनेको २५ लाख बर्षदेखी ११/१२ हजार बर्षसम्मको समयावधीलाई ढुङ्गेयुग तथा पाषण युग भनिन्छ । १२ हजारबर्ष यतामात्र कृषियुग तथा नवपाषण युगको सुरूआत भएको प्रागऐतिहासिक मत रहेको पाइन्छ । प्रागइतिहासको अध्ययन नै ढुङ्गाको अध्ययनमा सिमित छ । जो हाम्रो याक्थुङ मुन्धुममा भएका मुन्धुमी स्थलहरू ढुङ्गासँग नै सम्बन्धित रहेका छन् । फेरी त्यसरी नै प्राज्ञ बैरागी काइँलाको भनाईलाई नै लिउ कि उहाँ भन्नुहुन्छ: ” लेखेको सबै कुरा र तिथिमिति भएका मात्र सत्य र प्रमाणित हुँदैन । नलेखिएका र तिथिमिति नखुलाएका तथ्य असत्य र अप्रमाणित पनि हुँदैन ।” त्यसैकारण मुन्धुम अलिखित बिषय हो । त्यहाँ घटणाको बर्णन गरिएको हुन्छ । स्थान हुन्छ र पात्र पनि हुन्छ तर तिथिमिति मात्र हुँदैन । जुन कुराले प्रागितिहासिक कालका घटणाहरूलाई तिथिमितिले प्रमाणित गर्न सकिँदैन । अन्य जातिमा उनीहरूको धर्मग्रन्थ वा लोकसाहित्यहरूलाई आधार मानेर उनीहरूको इतिहास तयार भएको हुन्छ । तर हामी लिम्बू जातिको इतिहास मुन्धुमको आधारमा छैन भन्दा मुन्धुम भनेको एउटा मिथ हो भन्ने हाम्रा बिद्धवान मित्रहरू पनि छन् । अन्य जातिको धर्मग्रन्थमा उल्लेख भएको बिषयबस्तुहरू पनि ती जातिका मिथक नै हुन् जस्तै हिन्दु आर्य जातिको मिथिला बिदेह राज्यको प्राचीन इतिहास जो रामायणमा आधारित छ । हिन्दु आर्य जातिको इतिहास उनीहरूको धर्मग्रन्थहरूमा नै आधारित रहेको पाइन्छ । यसरी लेखिएको कुरा मात्र सहि मान्ने हाम्रा विद्धवान किरात इतिहासकार धेरै पाइन्छ…सेवारो …।।।
सन्दर्भ सामग्रीहरू :-
१. Chemjong, İ.S., (2003 A.D.) History and Culture of Kirst Peöple, Kirst Yakthung Chumlung ,Central Office Mahalxmisthan, Lalitpur.
२. ईङनाम, शेरबहादुर, (बि.स. २०५१), किरात इतिहास र संस्कृति अनुवाद, डिल्लीबहादुर लिबाङ
लिम्बू र अन्य, ताप्लेजुङ ।
३. चेमजोङ, इमानसिं, (बि. स. २०५९), किरात इतिहास, किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय महालक्ष्मीस्थान, ललितपुर ।
४. दहाल, डा. पेशल, (बि. स. २०५८), नेपालको इतिहास, एम. के. पब्लिशर्स एण्ड डिस्ट्रिब्युटर्स भोटाहिटी, काठमण्डौं ।
माङसेबुङ गापा- १, गजुरमुखी इलाम
( शिक्षण पेशामा आबद्ध युमा साम्यो महासभा नेपालका केन्द्रीय सदस्य याक्थुङ साले  ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: