लिम्बुवान इतिहासकाे प्रतीक : याङ्वरककाे निशान - Sainokhabar

लिम्बुवान इतिहासकाे प्रतीक : याङ्वरककाे निशान

लीला सेलिङ माबो
उहिले लिम्बुवानमा केन्द्रीय सरकारको पर्यवेक्षणमा सुब्बाहरू अहिले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिभन्दा शक्तिशाली मानिन्थे । सुब्बाहरुसँग ज्यान सजाय, गौ हत्याजस्ता पञ्चखतबाहेक अन्य सबै मुद्धा मामिला, ठिंगोरो मुंगोरो, तुरुङमा लगाएर दण्ड जरिवानासमेत गर्ने अधिकार सुरक्षित थियो । अझ नगरा निशान प्राप्त गरेका सुब्बाहरूको फूर्तिफार्ति, मान मर्यादा अरु सामन्य सुब्बाहरूको भन्दा उच्च हुन्थ्यो ।
याङ्रक(याङ्वरक)तिर पृथ्वीनारायण शाहले लिम्बुवान नेपालमा गाभेपछि मात्र निशान प्राप्त गरेपनि छथरका लिम्बुहरूले सेनमकवानकै पालामा प्राप्त गरे र पछि शाहहरूले यसलाई निरन्तरता दिएको विश्वास गरिन्छ । जानकार मञ्जुल याक्थुङ्वाका अनुसार, तत्कालीन याङ्रक क्षेत्र भारत, सुक्खिम र तिब्बत सिमाना परेकोले विदेशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो । पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैँले गर्नका लागि काठमाण्डौ आई राजा रणबहादुर शाहसँग हातहतियार मागे । योङहाङ सुब्बाको नेतृत्वमा आएका सुब्बाहरूलाई राजाले ढाल, खुँडा, त्रिशूल, नगरा, निशान, बन्दुक आदि युद्ध सामग्री दिएर अबदेखि लिम्बुवानमा दशैंको नवमीमा मौलो स्थापना गरी बलिपूजा गर्नुपर्ने आदेश दिए । काठमाण्डौँबाट फर्केपछि ५२ सुब्बाहरूको चुम्लुङले अबदेखि हरेक दशैँको नवमीमा याङरक थर्पुको पञ्चकन्या कालिकाधाम टुँडीखेलमा हातहतियारसहित निशान पूजा गर्दै नगरा बजाएर उत्सव मनाउने परम्परा बसाले । तर २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि किपटको अधिकार हननसँगै यो परम्परा हराउँदै गएको छ ।
*** *** ***
ओयाम–६ पाँचथर याङरकका सुब्बा भिमकुमार सेलिङको चाहिँ मञ्जुलको भन्दा फरक धारणा छ । आफैँ जङ्गी निशानको हकवाला सुब्बा भिमकुमार सेलिङका अनुसार, याङरकका १६ थरी ५२ सुब्बाहरूले श्री जङ्गी निशान माग गरी सर्वप्रथम राजा सुरेन्द्रविक्रम शाहबाट निशान बुझी ल्याउने उनैका पूर्खा सुब्बा मतपालसिं सेलिङ थिए । वि. सं. १९१२ मा सालमा चैते दशैँमा थर्पू मौजामा पहिलो चोटि दाखिल गरी सबैको सल्लाह बमोजिम रोलक्रमअनुसार १६ थरी ५२ सुब्बाहौले दशैंकाे महानवमीमा पूजा गर्ने, घुमाउने घरमा सालभर राख्ने क्रम जिजुबाजे शिलवन्त सेलिङ र सुब्बा हर्कसिं सेलिङ वि.सं. १९८३ मा श्री जङ्गी निशान ल्याएको र हाल सुब्बा फौदसिं सेलिङ जिम्माको सुभाङगी पान्थर मालपोत कार्यालय फेदेनबाट २०३१ साल पौष १८ उनी सुब्बा भिमकुमार सेलिङले आफैले सुभाङ्गी बहाली गरेका थिए । सन्जोगवश यो जङ्गी निशान सुब्बा भिमकुमार सेलिङ् रोलक्रम अनुसार २०७४ मा आफ्नो घरमा राखी २०७५ साल दशैँको अष्टमीका दिन याङ्वरक थर्पू माैजामा बुझाउने र अबदेखि घर घर नघुमाई यहीँ मन्दिर बनाएर भनी जङ्गी निशान बुझाउने अन्तिम सुब्बा पनि भिम कुमार सेलिङ नै हुन् ।
मञ्जुल याक्थुङ्वा र सुब्बा भिमकुमार सेलिङभन्दा फरक विचार मुकुबुङका सुब्बा पद्मध्वजका छोरा नरेन्द्र काम्वाङको छ । नगरा निशान १६ थरी ५२ सुब्बाहरू काठमाण्डौँबाट राजाबाट मागेर ल्याएको नभई गोरखा पृथ्वीनारायरण युद्धमा याङ्रकका सुब्बाहरूले जितेर खोसेको दावी गर्छन् – नरेन्द्र काम्वाङ । उनको दावीलाई नकार्न सकिन्न पनि किनकि उक्त युद्धमा याङ्रकेहरूले शाहहरूसँग कुनै सम्झौता गरेको पाइँदैन ।
याङ्रकमा सामान्य बोलीचालीमा भाले ‘जङ्गी’ र पोथी ‘कम्फू’ दुई नामका निशान छन् । भाले जङ्गी निशान १६ थरी ५२ सुब्बाहरूको घरमा वर्षैपिच्छे पालैपालो घुम्ने र पोथी कम्फू निशान स्थायी रूपमा थर्पूमा रहन्छ । अष्टमीका दिन कम्फू निशान धुमधाम पूजाआजा गरी सुब्बाको घरबाट बाहिर निकालेर थर्पू टुँडीखेल वरिपरि प्रदर्शन गरिन्छ । सोही दिन जङ्गी निशान बाहिरका सुब्बाहरूले उनीहरूका गाउँबाट नचाउँदै थर्पूमा ल्याउँछन् । भोलिपल्ट नवमीका दिन मौलो डाँडामा राँगा बोका भोग बली दिइन्छ । निशान बोक्ने युवाहरू खानपिन नखाई नुहाइधुहाइँ गरेका हुन्छन् । तरवार, चमर, नगरा बजाएर ‘हुइहुइँ’ गर्दै निशान नचाइन्छ । एकै ठाउँमा नचाउन नहुने विश्वासले गर्दा भालेपोथीबीच निश्चित दूरी राखेर मात्र नचाइन्छन् । कम्फु निशान काम्बाङ, तावा, माबो, सेलिङ सुब्बाहरूको र रेखदेख र संरक्षणमा रहन्छ ।
*** *** ***
निशानलाई याङ्रक सीमा रक्षक प्रतिकका रूपमा समेत लिइन्छ । कम्फु निशान केन्द्र (थर्पू) मा रहने र जङ्गी निशान सीमा रक्षा गर्न हात हतियारसहित अन्यत्र घुम्ने याङ्रके सुब्बाहरूको सामरिक रणनीति थियो । नरेन्द्र काम्वाङका अनुसार पोथी निशान सिवा, इवा, कालीखोला सेराेफेरो तीनखोले खासगरी सेलिङ, माङ्मु, ताम्लिङ, बेघा सुब्बाहरूको विशेष भूमिका रहन्थ्यो । र, भाले निशान सिवाखोला तमरसम्मका १६ थरी ५२ जिम्माका सुब्बाहरूबीच पालैपालो घुमाइए पनि यसको विशेष भूमिकामा काम्वाङ, तावा, माबो र योङहाङको रहन्थ्यो । काम्वाङ सुब्बाहरूले गुठीका रूपमा छुट्याइएका ६० मुरीको खेत स्थानीय माबोहरूले कमाउँथे र दशैंमा जङ्गी निशान लिएर आएका दलबललाई उनीहरूले खानपिनको व्यवस्था गर्नुपर्ने थप नरेन्द्र काम्वाङको भनाइ छ ।
सुब्बाहरू नगरा निशानलाई लिम्बुहरुको वीरता र विजयको प्रतिकका रूपमा लिने गर्थे । तर पछिल्लो पहिचानवादी आन्दोलनले यस्ता तथ्यलाई स्वीकार गरेको पाइँदैन । नेपाल एकीकरण हुनुअघि लिम्बुहरूमा दशैंटीका, मारहान्ने चलन थिएन । तर शाहहरूले किपटसँगै लिम्बुवानको स्वाधीनता खोस्न सम्पन्न सन्धिसँगै लिम्बुहरूलाई नगरा निशान दिएर झुक्काएको ऐतिहासिक तथ्यहरूले पनि पुष्टि गरेको छ । खासगरी यारङ्कतिरका असन्तुष्ट सुब्बाहरूलाई काठमाण्डौंमा बोलाएर नगरा, निशान, थप पदहरू दिएर फसाएका थिए । नगरा निशान पाएपछि ठूलो अधिकार पाएका सुब्बाहरू विस्तारै राज्यबाट प्रयोग भए र किपट हरण हुन थाल्यो । कतिपय पहिचानवादी अगुवाहरूले निशान परम्परा दास मानसिकताको पराकाष्ठा हो भन्दै निरन्तरता दिनुको औचित्य नभएको तर्क राख्दै आएकै छन् । नभन्दै आजभोलि निशानको शान र तुजुक विस्तारै हराउँदै गएको छ ।
स्राेत : बुबा जङी निशान सुब्बा भिमकुमार सेलिङ)
धन्यवाद ।
-हाल यूके

(युनिभर्सिटी अफ सर्रेबाट मनाेविज्ञान र अपराधशास्त्र विषयमा ब्याचलर्स गरेकी, कियाचु यूकेकी उपाध्यक्ष एवम थामेन्दिङ्मा महिला समितिकि संस्थापक अध्यक्ष माबाे साहित्यमा पनि सक्रिय छिन् । ‘लाहुरेनीकाे पीडा’ कविता सङ्ग्रहकी सर्जक लीला सेलिङ माबोले  ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

 

(थप बुझ्न तलको भिडियो हेर्नुहाेला ।)
https://www.facebook.com/100001249056468/videos/pcb.3153218058063132/3153213341396937/

सम्बन्धित खवर

%d bloggers like this: