म इश्वरवादी कि अनिश्वरवादी ! - Sainokhabar

म इश्वरवादी कि अनिश्वरवादी !

√लाहाङ चेम्जोङ
मलाई धेरै पहिलेदेखि दिमागमा ह्यामर गर्दै आउने प्रश्न हो, यो | आज, ज्ञानयात्रामार्फत छलफलको लागि विषय उठान गर्न चाहन्छु ।इश्वरवादीहरू इश्वर वा भगवानको अस्तित्वमा विश्वास गर्दछन् । जताततै इश्वर प्रकट छन् । सुखमा पनि दुखमा पनि इश्वरको कृपाले हो भन्ने गर्दछन् । अहिले, कोरोना कहरले अाक्रान्त बनाइरहदा पनि इश्वरवादीहरू इश्वरलाई खुब सम्झन्छन् । तर, ठीक उल्टो गरेर, अनिश्वरवादीहरू इश्वरको अस्तित्व झुटो मान्छन् । पश्चगामी सोच ठान्छन् ।
त्यसोभए, मेरो विचारमा यी कुराहरू के हुन् त !
म लिम्बु हुनको नाताले लिम्बु भाषामा इश्वरलाई भनिने शब्द ‘माङ’ बाट विसय प्रस्थान गर्न चाहन्छु । माङलाई अर्को शब्दमा ‘तागेरा निङ्वाफु (भु) माङ’ पनि भनिन्छ । ‘माङ’ को अर्थ खस भाषामा ‘टाढा’ अथवा ‘लामो दूरी’ भन्ने हुन्छ । यहाबाट, माङ (इस्वर) टाढा छन् भनेर बुझिन्छ । ‘तागेरानिङ्वाफुमाङ’ भनेको चाहि सम्झना (कल्पना) मा टाढाबाट आइपुग्छन्, भन्ने हुन्छ । यदि आस्था वा विश्वासले माङ्लाई सम्झन चाहन्छौँ भने. . . छन् तर टाढा छन्, मात्र कल्पनामा वा दिमागमा आउछन् । तर, मन्दिर वा कहिकतै प्रत्यक्ष प्रकट हुन्नन्, भनेर बुझ्नुपर्ने हुन्छ, जस्तो लाग्छ । यसरी अर्थ लगाइएको माङ अथवा इंवरले कोरोना सङ्कटमा मान्छेहरूलाई मुक्ति दिछन् भनेर बुझ्दा होला कि नहोला ! सम्झनामा मात्र आउने वा छन् त छन् तर टाढा छन् भनेर भनिएको माङले पृथ्वीमा प्रकट भएर हिन्दूहरू र क्रिश्चियनहरूले जसरी
“कोरोना भगाई जा” भन्दै भन्ने कि नभन्ने ! विस्वास गर्ने कि नगर्ने !
यी प्रश्नहरुको उत्तर खोज्न लिम्बुको मुन्धुममाथि पनि छलफल गर्नुपर्ने हुन्छ । मुन्धुमको जिस्ट अथवा अनुष्ठान अनुसार हो भने लिम्बुहरू प्रकृतिप्रेमी हुन् । कुनै लिम्बुको उद्दार होस् भनेर माङ्गेना वा तङ्सिङ वा कुनै अनुष्ठान गर्नु पर्याे भने माङ (इश्वर) को नाम पुकार्दै व्याख्या र वर्णन भने प्रकृतिको गरिन्छ । लिम्बुहरूलाई प्रकृतिप्रति पूरा भरोसा छ । प्रकृतिको नाममा लयात्मक ढङ्गले कति मीठो गरेर मुन्धुम गाइन्छ । लिम्बु कसरी प्रकृतिसँगको साँस्कृतिक सम्बन्धमा बाँचेको हुन्छ भन्ने बारेमा थुप्रै बहस गर्न सकिन्छ । गरौँला पछि ।
भनेपछि म, लिम्बु, इश्वरवादी कि अनिश्वरवादी ?
लिम्बुहरूको ‘माङ’ र ‘मुन्धुम’ दुवै पक्षलाई हेर्ने हो भने हिन्दु र क्रिश्चियनहरू जस्तो इश्वरवादी चाहिँ म हुन सक्तिन कि ! ”हे ! माङ ! कोरोनाबाट मलाई बचाउ” भन्दै भन्दिनँ । किनकि मेरो भाषाले परिभाषित ‘माङ’ प्रत्यक्ष आउदैनन् भन्ने छ । बरु, प्रकृतिलाई पूजा गर्न सकियो भने, वा प्रकृतिलाई सन्तुलित राख्न सकियो भने कोरोना जस्तो सङ्कटबाट बाँच्न सकिन्छ भनेर बुझ्दा उत्तम होला कि ! भन्छु । यस मानेमा, लिम्बुहरूले प्रकृतिलाई पूरै बिर्सेर माङ (इश्वर) प्रति भरोसा गर्न मिल्दैन । लिम्बुहरूको जीवनशैली भनेको माङको नाममा प्रकृतिसँगको सत्यवाचाको सम्बन्धमा अथवा प्रेममा आधारित छ । त्यसकारण, लिम्बुहरू न त अनिस्वरवादी हुन्, न त हिन्दू, क्रिश्चियन र मुस्लिम जस्तो कठोर इश्वरवादी हुन् !
यसर्थ, ‘माङ’ प्रकट भएनन् । कोरोना सङ्कटबाट माङले बचाएनन् भन्दै म अब अनिश्वरवादी भए भनेर कोल्टे फेर्नेहरूले ‘लिम्बु’वाद(लिम्बुत्व) नबुझेको मात्र हो । कोरोना अथवा कुनै पनि किसिमका भाइरसहरू न त माङले निर्माण गर्ने कुरा हुन्, न त माङले सक्ने कुरा हुन् । यस्ता चिजहरू प्रकृतिभित्रको सन्तुलन र असन्तुलन अवस्थाबाट आउनेजाने हुनाले मुन्धुमवादी लिम्बुहरू भड्किरहनु जरुरी छैन |
अन्त्यमा, प्रकृतिप्रेमी लिम्बुहरूले मुन्धुमभित्रको पर्यावरणीय दर्शनलाई साँच्चैको अर्थमा बुझ्ने हो भने दुईवटा कुरामा गहकिला निर्णयहरू प्रस्तुत गर्न सकिन्छ । एक, लिम्बुहरू इश्वरवादी भास र अनिश्वरवादी भासमा फसेर यता पो होला, उता पो होला भनिकन अन्योलग्रस्त हुन जरुरी छैन । साँस्कृतिक लिम्बुहरूले माङ्लाई नबिर्सिकन प्रकृतिप्रति भरोसा राख्नुपर्दछ । दुई, पृथ्वी प्राकृतिक असन्तुलनले तड्पिरहेको बेलामा, मुन्धुम मान्छेहरुको आस्थाको केन्द्रविन्दु हुन सक्तछ |
धन्यवाद ।
हाल यूके

(लिम्बुवान नागरिक समाज यूकेका महासचिव समेत रहेका लाहाङ चेम्जोङले आत्मपरक निबन्धनात्मक शैलीमा लेखेका लेख, ज्ञान यात्राको अभियानमा लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: