किराँत अपहेलित शब्द - Sainokhabar

किराँत अपहेलित शब्द

– याक्थुङ् सा
किराँतको बारेमा बहस चल्दा कतिपय विद्वान मित्रहरू पहिचान भनेको अरूले वा अर्कैले संबोधन गरेको शब्द नै यथार्थ पहिचान हो, भन्ने तर्क गरेको पाइन्छ तर यो अनावश्यक तर्क मात्र हो । खासमा किराँत भनेको हिन्दु आर्यहरूले गैरआर्य जातिहरूलाई उनीहरूको धर्म, संस्कार र संस्कृतिसँग मेल नखाने धर्म, संस्कार र संस्कृति अवलम्बन गर्ने गैरआर्य जातिलाई घृणा गरेर वा होच्याएर संबोधन गरेको संस्कृत शब्द हो, किराँत । यस्तो अपहेलित शब्द किराँतलाई कुनै पनि हालतमा पहिचानको रूपमा अंगाल्न सकिदैँन । हाम्रा विद्धवान मित्रहरूले के पनि भन्ने गरेको पाइन्छ भने किराँत शब्द अपहेलित शब्द भए जस्तै हिन्दु शब्द पनि अपहेलित शब्द हो । ” हिन्दु शब्द पनि फारसी भाषामा कालो, चोर, ठग, डाँकु र गुलाम आदि अर्थ हुन्छ ” र हिन्दु शब्दमा आर्यहरूले कुनै पनि किसिमको खेद प्रकट नगरी अनुशरण गरेको छ, भने हामीले किराँत शब्दलाई सम्मानपूर्वक अंगाल्दा के हुन्छ ? भनेर आफ्नो तर्कहरू तेर्साउने गर्छन् । तर ती विद्धवान मित्रहरूलाई यो कुरा थाहा छैन कि, हिन्दु शब्द कति पुरानो हो भनेर ! फारसी भनेका मुसलमानहरू हुन् । उनीहरूको धर्म मुस्लिम धर्म हो ।
मुस्लिम धर्म मुहम्द अल्लाहले प्रतिपादन गरेका हुन् । यो धर्मको उदय भएको करिव १३०० बर्ष पनि पुगेको छैन । आर्य जातिहरूको हिन्दु धर्म भनेको मुसलमानहरू आउनु भन्दा हजारौं बर्ष अगाडि हो । फारसीहरूले चोर, फटाहा, ठग र डाँकु प्रवृत्ति भएका आर्यहरूलाई हिन्दु भन्ठाने होला तर यथार्थमा हिन्दु शब्दको अर्थ हिन्दु शास्त्र तथा ग्रन्थहरूमा राम्रो सम्मानजनक रहेको पाइन्छ । हिन्दु शब्द अपहेलित होइन भन्दै हिन्दुशास्त्र वेद्का ज्ञाता डा. स्वामी प्रपन्नाचार्य आफ्नो ग्रन्थ वेदमा के छ ? को पृष्ट १२० मा उल्लेख गर्न हुन्छ- “अब मुसलमानहरूको आविभार्वभन्दा पहिले ‘हिन्दु’ शब्दको प्रयोग कहाँ भएको छ ? कुन कुन ग्रन्थमा भएको छ ? भन्ने जिज्ञासा हुनु स्वाभाविक नै हो । त्यसो हुँदा यो कुरालाई तलैबाट नकेलाई बिषय सफा नहुने भएको हुनाले यहाँ केही प्रमाण दिइन्छ । विश्वको सबै भन्दा पुरानो साहित्य ‘वेद’ हो भन्ने दोहोर्याउनु पर्ने छैन । त्यसैको समसामयिक अर्थात वेद्हरूपछि पार्सीयनहरूको जिन्दा-अवस्ता भन्ने ग्रन्थको अविभार्व भएको हो । त्यही ‘जिन्दा-अवस्था’ को अर्को नाम या भाषान्तरमा ‘शातीर’ पनि भनिन्छ । यो पार्सीयनहरूको धेरै पुरानो ग्रन्थ हो । यसमा धेरै जस्तो संस्कृत शब्दहरू छन् र त्यसमा पनि बैदि्क शब्द धेरै छन् । अनि तद्भव शब्दलाई लिने हो भने त मूल नै संस्कृत छ । त्यो पार्सीयनहरूको ‘शातीर’ भन्ने ग्रन्थमा मुसलमानहरू भन्दा हजारौं बर्ष पहिले नै हिन्दु शब्दको प्रयोग गरेको पाउछौं । त्यो ‘शातीर ग्रन्थमा यस्तो लेखिएको छ – ‘ अकन् बिरहमने ब्यस नाम आज हिन्द आमद् बस, दाना कि अकल चुनानस्त् ‘ यसको अर्थ हो ‘ ब्यास नाम गरेका एक हिन्दु भारतबाट आए, जसको बराबर बुद्धिमान अर्को देखिँदैन ।’ यस प्रमाणले यो बुझाँउछ कि महाभारतकालका ब्यास पार्सीयन देशमा गएका रहेछन् । अनि त्यतिखेर ब्यासलाई हिन्दु नै भन्ने चलन भएको प्रष्ट हुन्छ । अनि यस कुराको पनि इतिहास मिल्यो कि हाम्रा चुलो ढुकुवा विद्धवानहरूले भन्छन् कि ऋृषिहरू बाहिर कुनै देशमा गएका छैनन् । त्यस्ताहरूका मुखमा पनि बुच्चो हालिदिन्छ । आधुनिकताको फुटानी हाक्ने इतिहासकारहरूको पनि छुँवा केलाउँछ । त्यसो हुँदा ब्यास ऋृषि अरब आदि देशमा घुम्न गएको प्रष्ट भएपछि त्यतिखेर पनि हिन्दु नै मान्दा रहेछन् भन्ने कुराको साँदी राख्ने आवस्यकता छैन । फेरी उसै ‘शातीर’ ग्रन्थमा- ‘ चूँ ब्यास हिन्दी बलख आमद् गश्तशप जवरदस्त राव ख्वान्द’, जसको अर्थ – ‘ जव हिन्दुस्थानबाट बलख भन्ने ठाउँमा ब्यास पुगे तव इरानका बाद्शाह गश्तशपले ‘जवरदस्त’ लाई बोलाए ।’ यो ‘जवरदस्त’ अरू कुनै होइन आपितु पार्सीयन धर्मका पर्वतक ‘जरथुस्त’ नै हुन् । हुन् सक्छ बादशाहले शास्त्रार्थ गर्नका लागि बोलाएका होलान । त्यही ‘शातीर’ मा अगाडि लेखेको छ- ‘ मन मरदे अम हिन्द निजाद्’ अर्थात ‘म हिन्दुस्थानमा जन्मेको हुँ ‘ यो वाक्यचाहि मेरो बिचारमा आफ्नो परिचय दिँदा स्वयं ब्यासले भन्नु भएको होला । फेरी अगाडि लेखेको छ- ‘ व हिन्द वाज गश्त ‘ अर्थात ‘ फेरी ती हिन्दुस्थान फर्के ‘ । यी ‘शातीर’ ग्रन्थका पङ्तिहरूमा परेका ‘हिन्द’ शब्दले हिन्दु र हिन्दुस्थान दुवैलाई प्रष्ट बुझाएको छ । त्यसो हुँदा कुनै अरबको मुसलमानले गाली गर्नको लागि बनाएको ‘हिन्दु’ शब्द भन्नु अबुझ कुरा हो । नविन शब्द हो भन्नु त झन् बुद्धिलाई भ्रममा पार्नु मात्रै हो ।” माथी उल्लेखित तथ्यहरूलाई अध्ययन गर्दा जुन पार्सीयन ग्रन्थ शातीरमा ब्यासलाई जसको बराबर बुद्धिमान देखिँदैन भनेर प्रसंशा गरेको पाइन्छ भने हिन्दु भनेको कुन मानेमा ” कालो, चोर, डाँका, फटाहा, ठग र गुलाम भए ? चाहे हिन्दु शब्दको राम्रो नराम्रो जे अर्थ लगाएतापनि किराँत जस्तो घृणित र अपहेलित शब्दसँग हामी याक्थुङ् (लिम्बू) समाजले त्यो शब्दसँग सरोकार नराखे कै उचित हो । हिन्दु शब्दको नराम्रो अर्थ हुँदा पनि आर्यहरूले कुनै खेद् जनाएको छैन भने हामीले पनि किराँत शब्दसँग किन गर्व गर्ने वा मान्ने ? हिन्दु शब्द त आर्यहरूको बिभिन्न ग्रन्थ तथा साहित्यहरूमा उल्लेख भएको छ । त्यसैकारण पनि उनीहरू हिन्दु शब्दप्रति गर्व गर्छन् तथापि हामीमा किराँत शब्द हाम्रो मुन्धुम, दर्शन तथा बिभिन्न लोक साहित्यहरूमा कहि कतै पनि किराँत उच्चारण नहुनुको कारण किराँत शब्दमा गर्व मान्नुको कुनै तुक नभएको यो पङ्तिकारको ठहर हो । त्यसैकारणले पनि किराँत शब्द अपहेलित शब्द हो । अव बिषय रहयो हिन्दु शब्द संस्कृत शब्द होइन । नविन शब्द हो । यो हिन्दु शब्द संस्कृत साहित्य, ग्रन्थ तथा संस्कृत शब्दकोषहरू पाइन्दैन भन्नेबारेमा: हिन्दु शब्द संस्कृत शब्द नै हो । यसबारेमा डा. स्वामी प्रपन्नाचार्यले आफ्नो ग्रन्थ बेदमा के छ ? को पृष्ट १२१ र १२२ मा यस्तो उल्लेख छ- ” महर्षि शाकपुणिको बैदि्क बाङ्गमय शाकपुणिसंहितामा:- हिनोति धर्मविज्ञान नयत्यात्य
हिनोति धर्मविज्ञान नयत्यात्यामनमुन्नतिम् ।।
दुनोति दुष्टबृत्तस्थान् स वै हिन्दुरितिस्मृतम् ।
त्यसैगरि महर्षि बृहसपतिले पनिले पनि हिन्दु शब्दको उल्लेख गरेका छन् । ब्यासले कालिका पुराणमा, भविष्य पुराणमा त्यस्तै मेरूतन्त्रमा पनि हिन्दु शब्द उल्लेख भएको छ । त्यसपछि अद्भुतकोष, हेमन्तकविकोष, रामकोष, पारिजातहरण नाटक, शारङ्गधरपद्धति, शब्दकल्पद्रुभकोष, त्रयम्बकसिद्बान्त र हिन्दुरहस्य अनेकौं ग्रन्थहरूमा बेदका शाखा उपशाखाहरूमा हिन्दु शब्दको उल्लेख थियो तर कालगतिले ती ग्रन्थहरू हराउँदै बिलाउँदै गए । तै पनि यत्रो अगाध समुन्द्रमा यति पनि पाउनु कम होइन । ” अनि ब्यास, बृहस्पति र शाकपुणि आदि ऋृषिहरूको समयकाल भनेको अतिप्राचीन काल हो । अझै पनि उनीहरूको समयकाल भनेको अझै यकिन छैन । माथी उल्लेखित महर्षि शाकपुणिको बैदि्क बाङ्गमय शाकपुणिसंहितामा ‘हिन्दुरितिस्मृतम् ‘ भनेर उल्लेख गरेका छन् । के यो संस्कृत शब्द नभएर फारसी शब्द त नहुनु पर्ने । अतः हाम्रा चुलोढुकुवा बिद्धवान मित्रहरूको मत हिन्दु शब्द संस्कृत शब्द होइन । यो शब्द हिन्दु साहित्य, ग्रन्थ तथा शब्दकोषहरूमा पाइन्दैन । नविन शब्द हो । यसको अर्थ नराम्रो छ भन्नेहरूको मुख यिनै प्रमाणहरूले नराम्रो किसिमले बुच्य्याएको छ । त्यसै गरि माथीको तथ्यहरूको अध्ययन गर्दा हिन्दु शब्दको अर्थ नराम्रो होइन भन्ने प्रष्ट छ र यो शब्द बैदि्क भाषा वा संस्कृत शब्द नै हो, भन्ने पनि स्पष्ट छ । तर अर्को तर्फ भन्नै पर्दा किराँत शब्दको बारेमा साँचो र सत्य बिषय यही नै हो कि किराँत शब्द संस्कृत शब्द नै हो र यो शब्द नेपाली भाषामा तत्सम् शब्दको रूपमा प्रवेश गरेको शब्द हो र लिम्बू भाषामा तत्सम् शब्द र तद्भव शब्द पाइदैंन । लिम्बू भाषा एक सम्पन्न भाषा हो । यसको ब्याकरण उन्नत छ । यो भाषामा भाषान्तर वा अपभ्रंश भएर शब्द निर्माण भएको सारै पाइदैंन । लिम्बू भाषामा अनुसन्धान गरि पि. एच. डि. उपाधि हासिल गर्ने युरोप नेदरल्याण्ड निवासी डा. जर्ज भ्याण्ड्रीले लिम्बू भाषाको रूप ४००० बर्ष सम्म पनि परिवर्तन नभएको बताएका छन् भने संस्कृत भाषाको सुरूआत ई. पू. १५०० यता मात्र हो । यस बिषयलाई अध्ययन गर्दा संस्कृत भाषा भन्दा नि लिम्बू भाषा धेरै पुरानो हो भन्ने सहजै अनुमान गर्न सकिन्छ….।।।
अध्ययनको निस्कर्ष:-
१. किराँत शब्द एक घृणित वा अपहेलित शब्द हो । २. किराँत याक्थुङ् (लिम्बू) जातिको पहिचान होइन । ३. हिन्दु शब्द अपहेलित शब्द होइन । ४. हिन्दु शब्द बिभिन्न हिन्दु साहित्य, ग्रन्थ तथा शब्दकोषहरूमा उल्लेखित छ । ५. किराँत शब्द लिम्बू जातिको मुन्धुम, मिथक तथा लोक साहित्यहरू उपयोग भएको पाइन्दैन ।
सन्दर्भ ग्रन्थ:-
१. प्रपन्नाचार्य, डा. स्वामी, (बि. स. २०५०), वेदमा के छ ?, साझा प्रकाशन, काठमण्डौं ।

सम्बन्धित खवर

%d bloggers like this: