प्रदेश निर्वाचन क्षेत्रको उन्नाइस योजना छनोट - Sainokhabar

प्रदेश निर्वाचन क्षेत्रको उन्नाइस योजना छनोट

साइनो समाचारदाता

ताप्लेजुङ । जिल्लाको निर्वाचन क्षेत्र १ ‘२’ बाट निर्वाचत प्रदेश सभा सदस्य टङ्क आङ्बुहाङको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत विभिन्न १९ वटा योजना छनोट गरिएको छ ।

पाँचवटा स्थानीय तह रहेको यस निर्वाचन क्षेत्रमा सञ्चालन हुनेगरी सडक, भवन, सिँचाइ कुलोलगायत पूर्वाधार निर्माणका योजनाहरु छनोट गरिएका हुन् । छनोट भएका योजनाहरु मध्ये सबैभन्दा ठूलो मिक्वाखोला गाउँपालिकाको साँबा माविदेखि फुङ्फुङ्गे झरना हुँदै पापुङ जाने सडक योजना रहेको छ । सडक योजनाका लागि ५० लाख रुपियाँ बिनियोजन गरिएको छ ।

यस्तै आठराई त्रिबेणी गाउँपालिकाको रमिते खेलमैदान बिस्तार र हाङ्पाङ स्वास्थ्य चौकीदेखि घुमाउने चुँवा दोभान सडक निर्माणका लागि १०–१० लाख रुपियाँ बिनियोजन भएको छ ।

मैवाखोला गाउँपालिकाको सुरबिरेदेखि सेलुवा दोभान जाने मोटरबाटो, सरस्वती आधारभूत बिद्यालय खेल मैदान निर्माण र सिंहराज स्मृति खेल मैदान बिस्तारका लागि समान १०–१० लाख, मैवाखोला गाउँपालिकाकै मजुवा मालिङ्गेनी कृषि सडकलाई १२ लाख ५० हजार रुपियाँ बिनियोजन गरिएको छ ।

मेरिङ्देन गाउँपालिकाको हम्बेलुङ कुलो मर्मत योजना, थुकिमाको साविक वडा नं. १, ५ र ९ जाने कृषि सडक स्तरोन्नति र याक्तेली ओख्राबु नमूना खानेपानी आयोजनाका लागि १०–१० लाख तथा नाल्बु नागीदेखि चाँगा खुम्जुङ जाने मोटरबाटोलाई १५ लाख रुपियाँ विनियोजन भएको छ ।

मिक्वाखोला गाउँपालिकाको खाङ्गुडे खोल्सीदेखि सल्लेरी ओइराखु मोटरबाटो निर्माण र लिन्द्रङ खोल्सादेखि हाङ्समचौक मोटरबाटो निर्माणका लागि १०–१० लाख रुपियाँको योजना छनोट भएका छन् । मिक्वाखोलाकै वडा नं. ४ पिपलबोट स्वास्थ्य चौकी, सिमिकलुङ ओत्रक पोखरी हुँदै मानाभरा बाग्मापोखरी जाने मोटरबाटोका लागि २० लाख र दलैंचा लघु जलबिद्युत निर्माणका लागि १० लाख रुपियाँ बिनियोजन भएको छ ।

उता फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनस्थित रबिकला माविको अधुरो भवन सम्पन्न गर्नलाई १० लाख तथा खेजेनिम सामुदायिक भवन निर्माणका लागि १० लाख रुपियाँकै योजना छनोट भएको प्रदेशसभा सदस्य आङ्बुहाङका स्वकीय सचिव प्रजिन हाङ्बाङले जानकारी दिए ।

हाङ्बाङका अनुसार फक्ताङ्लुङकै इखाबुस्थित बिपुधाप आधारभूत बिद्यालय भवन निर्माणका लागि १० लाख तथा घुन्सा प्रहरीचौकी भवन निर्माणका लागि १० लाख रुपियाँको योजना चयन भएको छ ।

कूल दुई करोड ५० लाख रुपियाँको योजनामध्ये प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन (दोस्रो शंसोधन) नियमावली २०७६ को कार्य्विधि अनुसार जिल्ला समन्वय समितिमा जाने प्रशासनिक खर्चमा एकलाख २५ हजार र संयोजक वा प्रतिनिधिको सहजीकरण खर्च बापत एकलाख २५ हजार रुपियाँसमेत कुल बजेट बराबरको योजनाहरु छनोट भएको स्वकीय सचिव हाङ्बाङले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this: