सम्वृद्ध धरान हामी बनाउछौँ यो पटक मौका दिनुहोसः इस्वो - Sainokhabar

सम्वृद्ध धरान हामी बनाउछौँ यो पटक मौका दिनुहोसः इस्वो

तेह्रथुमको आठराई क्षेत्रको खाम्लालुङ वाईफुङ गाउँमा जन्मेको हुँ । वि.सं. २०१४ साल असार ४ गते । पिता कालुहाङ इस्बो र माता कृष्णमाया फोम्बो । गाउँमा स्कुल थियो । त्यहीँबाट माध्यमिक तहसम्म अध्ययन गरेँ । पढ्दापढ्दै २०३४ सालमा व्रिटिस गोर्खा आर्मीमा भर्ती भए । २०४९ सालमा आर्मीबाट अवकाश भएर धरान फर्कें । २७ वर्ष भयो धरानमा नियमित बस्न थालेको ।

धराने समाजलाई नजिकबाट नियालेको छु । यहाँका बासिन्दाका दुख्ख, सुख्ख र समस्या राम्ररी बुझेको छु । धरानको विकास निर्माण, राजनीति र समाजसेवामा निरन्तर क्रियाशील छु । मेयरका रुपमा धराने जनताको सेवा गर्न, धरानको विकास, सुशासन र समृद्धिमा योगदान गर्न सक्छु भन्ने आत्मविश्वासले उम्मेद्वार भएको हुँ । धरानमा मलाई सार्वजनिक परिचयको समस्या छ जस्तो लाग्दैन । अधिकांश मतदाताले चिन्नुहुन्छ । व्यक्तिगत भेटघाट नभए पनि मेरो बारेमा पक्कै सुन्नु भएको छ । चुनावमा घरदैलो गर्दैछु । राम्रो व्यवहार पाइरहेको छु ।

तेह्रथुममा कम्युनिष्ट पार्टीको प्रभाव थियो । गाउँमै कम्युनिष्ट विचारधाराबाट प्रभावित थिएँ । गोर्खा भर्ती गएपछि राजनीति छुट्यो । सैनिक सेवामा १६ वर्ष रहँदा म शुद्ध सैनिक भएर रहें । त्यहाँ राजनीतिको कुरा गर्न मिल्थेन । जरुरी पनि थिएन । तर, देशको राजनीतिक स्थितिको सूचना लिन्थें । मनमा चासो र चिन्ता हुन्थ्यो । संसारमा जहाँ पुगे पनि आफ्नो देश र गाउँघरको सम्झना र माया लाग्ने नै भो । तर, सैनिक सेवामा पनि आन्तरिक समस्या हुन्थे । ब्रुनाईमा भएको वेला सैनिक सेवाप्रति मनमा असन्तुष्टि जाग्यो । धरान फर्केर कम्युनिष्ट पार्टीमै लागें । एमालेको नगर सदस्यका रुपमा लामो समय काम गरें ।

नेपालमा धरान, पोखराजस्ता शहर बन्नुमा भूतपूर्व गोर्खा सैनिकको ठूलो योगदान छ । तर गोर्खा सैनिकहरुको योगदानले खासै सम्मान र सामाजिक भूमिका पाइरहेको छैन । गोर्खा सैनिकका आफ्नै प्रकारका समस्या छन् । ती समस्या हल गर्न नेपाल सरकार र यहाँका शक्तिशाली दलहरुले यथोचित काम नगर्दा दुख लाग्छ ।

पहिलो र दोस्रो विश्वयुद्ध लड्न ब्रिटिसले गाउँगाउँ आएर नेपाली जवानहरु लग्यो । कति मरे, कति बाँचे कति विदेशमै रहे, कति नेपाल फर्किए, कुनै राम्रो अभिलेख समेत रहेन । गोर्खली सेना र अन्य व्रिटिस सेनाबीच सेवा, सुविधा र प्रोमोसनमा कहिल्यै समानता भएन । समान कामको समान मूल्य त्यहाँ पनि रहेनछ । त्यो एक प्रकारको विभेद थियो । जसको रगत, पसिना र पराक्रममा उनीहरुको साम्राज्य टिकेको थियो, उनीहरुले तिनैलाई विभेद, असमान व्यवहार गरे । त्यसविरुद्ध भूपू गोर्खाहरुले लामो लडाइ र संघर्ष गर्नुर्पयो । म त्यो आन्दोलनमा पनि सधैं सक्रिय रहें । यो समस्या अझै बाँकी छ ।

पहिलो संविधानसभा चुनावको वेला एमालेले जातीय मुक्ति भन्दै जातिगत संगठनहरु निर्माण र्गयो । म लोकतान्त्रिक लिम्बू संघको धरान नगर अध्यक्ष भएँ । एमालेबाटै पहिचान र अधिकारका आधारमा संघीयता र जातीय मुक्ति हुन्छ भनेर ती संगठनका नेताहरुले भने । पहिलो संविधानसभाले १४ प्रदेशको खाका ल्यायो । एमालेको पनि त्यसमा सहमति थियो । तर विस्तारै एमाले नेताहरुले कुरा फेर्न थाले । पहिलो संविधानसभा अघिपछिका एमाले दस्तावेजहरुमा पहिचानलाई अस्वीकार गरिएको थिएन । तर, त्यो त्यतिखर माओवादी ठूलो पार्टी भएकोले माओवादीको बढ्दो प्रभाव रोक्न एमालेहरुले खेलेको रणनीति मात्र रहेछ ।

यो घटनाबाट मैले के बुझें भने कम्युनिष्टहरु इमान्दार हुँदैनन् । उनीहरु मुखले एउटा कुरा भन्छन्, कामले अर्कै गर्छन् । आफैले उठाएका एजेण्डाप्रति पनि उनीहरुको प्रतिबद्धता हुँदैन । सरेक परुन्जेल उठाउँछन । अप्ठ्यारो र्पयो भने कतिखेर छोड्छन् कुनै टुंगो हुँदैन । कम्युनिष्टहरुका लागि सिद्धान्त र एजेण्डा भनेको केवल शक्तिशाली हुन, पदमा पुग्न, पैसा र प्रतिष्ठा कमाउन गरिने रणनीति कार्यनीतिको कुरा मात्र रहेछ । कुनै प्रतिबद्धता र निष्ठा नहुँदो रहेछ ।

म त सैनिक पृष्ठभूमिको मान्छे । हाम्रो पेशामा मान्छेको बोली र गन्दुकको गोली उस्तै हो । तर, कम्युनिष्टहरु त कतिखेर रंग फेर्दछन टुंगै नहुँदो रहेछ । जब दोस्रो संविधानसभामा माओवादी कमजोर भयो, उनीहरुले पनि पहिचान र अधिकारको कुरा छोडेर एमालेसँग मिले । हिजोका त्यत्रा ठूला ज्यानी दुश्मन ओली–प्रचण्ड आज मिलेका छन् । आदिवासी जनजाति, महिला, मधेसी, दलित, अल्पसंख्यक आदि समुदायलाई ढाँट्दैछन् । यो पीडाले म समाजवादी पार्टीमा पुगें । झुठ बोल्ने बेइमानहरुको पछि लागेर शक्तिशाली भएको भ्रममा बाँच्नु भन्दा विचार, एजेण्डा र इमानको राजनीति गर्नु उचित ठानी कम्युनिष्ट पार्टी छोडेर समाजवादीमा लागें ।

भन्न त कम्युनिष्टहरु पनि आफूलाई समाजवादी नै भन्छन् । तर यो अर्को झुट हो । विश्वमा हालसम्म देखिएको दुईवटा विचारधारा पुँजीवादी र साम्यवादी विचारधारा छन् । कम्युनिष्टहरुले समाजवादबाट साम्यवादमा पुग्ने कुरा गर्छन् । उनीहरुले भन्ने गरेको समाजवाद राज्य–अर्थतन्त्र र सर्वहारा अधिनायकत्वमा आधारित कम्युन लोकतन्त्रको समष्टिगत रुप हो । हामीले भनेको समाजवाद सामाजिक बजार अर्थतन्त्रसहितको सामाजिक लोकतन्त्रको समष्टिगत रुप हो ।

कम्युनिष्ट समाजवादले सामुदायिक अन्तरविरोधलाई वर्गीय अन्तरविरोधको अंश मात्रै ठान्छ । तर समाजवादी पार्टीको समाजवादले वर्ग तथा सांस्कृतिक सामाजिक न्याय र समानताको आधारमा समाजवादको परिकल्पना गरेको छ । तसर्थ हाम्रो समाजवाद र कम्युनिष्टहरुले भन्ने गरेको समाजवादमा ठूलो भिन्नता छ । कम्युनिष्टहरु आफ्नो निहित राजनीतिक अभिष्ट पूर्तीका लागि जनतालाई ढाँट्न समाजवादको कुरा गर्दछन् । समाजवादप्रति हाम्रो पूर्ण निष्ठा छ । समाजवाद कांग्रेस र कम्युनिष्टले, पुँजीवादी र साम्यवादीले ल्याउने हैन रहेछ, समाजवाद ल्याउन पार्टी पनि समाजवादी नै चाहिने रहेछ ।

३० वर्षभन्दा बढी समयदेखि कम्युनिष्टहरुले धरानमा जितिरहेका छन् । तर, धरानलाई कम्युनिष्टहरुले शासन मात्र गरे । धरान अगाडि बढ्नुको साटो झन झन पछाडि पर्दै गइरहेको छ । धेरै पछाडि बनेका इटहरी, दमकले समेत धरानलाई पछाडि छोडे । कर, राजस्व र विकासको गतिबीच सन्तुलन छैन । कर धेरै थोपरिएको छ तर विकास सुस्त छ । यसको मुख्य कारण धरानको सबै क्षेत्रमा लामो समयदेखि हालीमुहाली जमाएका कम्युनिष्टहरुको सोच नै साँघुरो भएर हो । उनीहरुले नगर विकासको दीर्घकालीन योजना र रणनीति बनाउन सकेनन् । धरानमा रहेका मुख्य प्रशासनिक कार्यालयहरु अन्य ठाँउमा सारिँदा पनि दरिलो प्रतिवाद भएन । नेकपा अब धेरै पुरानो पार्टी भो । त्यो थोत्रो, सोचमा खिया लागेका मान्छेहरुको जड पार्टी हो । नेकपाबाट अब धरानको विकास र उन्नतिको नेतृत्व हुनसक्दैन भनेर धराने जनताले बुझिसकेका छन् । तसर्थ यसपटक धराने जनताले समाजवादी पार्टीलाई भोट दिने सम्भावना तीव्र छ ।
समाजवादी पार्टी कांग्रेस– कम्युनिष्टजस्तो पुरानो हैन । यो नयाँ पार्टी हो । नयाँ युग अनुकुलको नयाँ विचार, एजेण्डा, संस्कार र पार्टी संस्कृति यो पार्टीसँग छ । तर, समाजवादी पार्टी भरखर निर्माण हुँदैछ । यसको संगठन पूरै फैलिसकेको छैन तर पनि धरानमा समाजवादी पार्टीको संगठन छ । समर्थक र मतदाताहरु छन । पहिलाको भन्दा अहिले संगठन धेरै राम्रो भएको छ । चुनाव प्रसारप्रसार हामी नियमित र प्रभावकारी रुपमा गर्दैछौं । चुनाव कार्यकर्ता धेरै भएर जितिने हैन । कार्यकर्ताले प्रसार गर्ने हो । पार्टीको विचार जनजनमा र्पुयाउन हाम्रो पार्टीपंक्ति सक्षम छ । चुनाव मतदाताले जिताउने हो । मतदाता कुनै पार्टीको पेवा हुँदैनन् ।

हाम्रो पार्टीको एजेण्डाको प्रभाव निश्चित रुपमा धरानमा पर्छ । संघीयता, समावेशिता, सुशासन, समृद्धि र समाजवादको एजेण्डा बोकेको पार्टी देशमा अर्को छैन । धरान भूपू सैनिक र आदिवासी जनजातिहरुको बलियो उपस्थिति भएको शहर पनि हो । हामी इन्द्रेणी राष्ट्रवादमा विश्वास गर्दछौं । हाम्रो पार्टी जतिको समावेशी पार्टी नेपालमा अरु कुनै छैन । समाजवादी पार्टीको भिन्नपन र एजेण्डालाई धराने मतदाताले राम्ररी नियालेका छन् । भूपूहरुलाई मेरो आग्रह छ– हामी पर्दा पछाडि बसेर मात्र हुँदैन । ऐनमौकामा नेतृत्व पनि लिनु पर्दछ । यत्रो आधुनिक शहर बसाउन, बनाउन हामीले योगदान र्गयौं, एकपटक नेतृत्व गर्ने अवसर पनि उपयोग गरौं ।

धरानमा मुख्य प्रकारका समस्या छन् । धरान अहिले उपमहानगरपालिका भएको छ । साविक पानवारा र विष्णुपादुका धरानमा गाभिएको छ । पानवारासँग धरानलाई जोड्न हाल दुईवटा मात्र सेउती खोलामा पुल बनेको छ भने एउटा निर्माणाधीन छ । विष्णुपादुकासँग जोड्ने हालसम्म एउटै पनि पुल बन्न सकिरहेको छैन । यसले के देखाउँछ भने पानवारा र विष्णुपादुकासँग सीमागत र भावनात्मक रुपमा जोडिएता पनि भौतिक रुपमा जोडिन सकिरहेको छैन । वर्षायाममा आवत जावत गर्न धेरै मुस्किल पर्छ । विष्णुपादुका र पानवारा क्षेत्रमा अझै शहरी सुविधा पुगेको छैन ।

धरानमा अहिलेसम्म बसपार्क बन्न सकिरहेको छैन । अन्य पूर्वाधारका विषयमा दीर्घकालीन रणनीति निर्माण हुन सकिरहेको छैन । खानेपानीको समस्या हल भएको छैन । यत्रो ठूलो शहर छ । एयरपोर्ट छैन । एयरपोर्ट योजना अलपत्र पारिएको छ । सरकारी कार्यालयहरु धमाधम अन्यत्र सारिएको छ । शिक्षा र स्वास्थ्यको अवस्था खस्किँदो अवस्थामा छ । पर्यटनको अवस्था गफ र भाषणमा मात्रै सुनिन्छ तर खास योजनासहित अगाडि बढ्न सकिरहेको छैन । यहाँ कुनै पनि योजना विवादरहित हुन सकिरहेको छैन ।

यसले के कुरा देखाउँछ भने यहाँको नेतृत्वशैलीमा नै समस्या छ । लिडरसीपसँग समस्या समाधान गर्न सक्ने क्षमता छैन । समस्यालाई मिलाएर लैजाने भन्दा पनि बल्झाएर एकलौटी रुपमा पेलेर जाने प्रवृत्ति हावी छ । नेतृत्वले शिक्षा, स्वास्थ्य, पर्यटन, आर्थिक विकास, व्यापार व्यवसायको वृद्धि, कृषि र विभिन्न जिल्लासँग सडक संजाल जोड्ने योजना बनाउन सकेको छैन । सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यामा कसैले ध्यान दिएको छैन ।

सत्तारुढ पार्टीका साथीहरु सबैलाई समेटेर अगाडि बढ्ने भन्दा एकलौटी र एकाङ्गी पाराका छन् । धरान हाम्रो विर्ता हो यहाँ हामीले जे गरे पनि हुन्छ, अरुलाई के मतलब भनेजस्तो व्यवहार छ । साथीहरु मुखै भन्छन– यो हाम्रो किल्ला हो, यहाँ हाम्रो पार्टीबाट लठ्ठी या कुकुर उठाए पनि चुनाव जित्छौं

यसले के कुरालाई इङ्गीत गर्छ भने हामीले जे गरे पनि हुन्छ, हाम्रो निर्णय धराने जनताले मान्नुपर्छ भन्ने निरंकुश मानसिकता सत्ताधारी पार्टीमा छ । पछिल्लो समय यहाँ भ्रष्टाचार बढेको छ । विकासको काममा कमिसनखोरी बढेको छ । नगरपालिकाको बजेट र सेवासुविधा समेत कामरेडहरु पार्टीकरण गर्न खोज्छन । जनताको करबाट उपलब्ध हुने सेवा सुविधा पार्टीगत गर्नु कत्तिको जायज छ ? सम्मानित मतदाताले मूल्यांकन गर्ने सही समय आएको छ ।

अन्त्यमा म धराने मतदातालाई आग्रह गर्न चाहन्छु– विगत ३० वर्ष देखि धरानलाई कम्युनिष्टहरुले नेतृत्व गरे । उनीहरुले पर्याप्त मौका पाइसके । उनीहरुको सोच र क्षमता प्रष्ट भइसक्यो । लोकतन्त्रमा समय – समयमा शासनको शैली र सोच परिवर्तन हुनु पर्दछ । सधै एउटै पार्टीले जित्ने हो भने किन चाहियो लोकतन्त्र ? किन चाहियो बहुदल ? समाजवादी पार्टीले अझ राम्रो विकल्प दिन्छ, दिन सक्दछ । तसर्थ यस पटक हामीलाई मौका दिनुस् ।

–समाजवादी पार्टीका तर्फबाट धरान उप महानगरका प्रत्यासी उमेद्धवार भूतपूर्व गोरखा सैनिक गजेन्द्र इस्वोले चुनावी अभियान तथा घरदैलोको क्रममा ब्यक्त गरेको विचार मेची एक्प्रेसले प्रकाशित गरेको छ । सोहि विचार साभार प्रकाशित गरेको हो ।

सम्बन्धित खवर

%d bloggers like this: