आत्मानन्द कपः माङसेबुङले दार्जेलिङ्गको सामना गर्दै - Sainokhabar

आत्मानन्द कपः माङसेबुङले दार्जेलिङ्गको सामना गर्दै

साइनो समाचारदाता

माङ्सेबुङ (इलाम) । जिल्लाको माङसेबुङमा १२ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुदैछ ।

आज २ बजे हुने खेलमा माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतको सामना गर्दैछ । जित्ने टिमले राजावास युथ क्लब सुनसरी र एएससी अर्जनधारा झापा मध्ये एक टिमसँग स्पर्धा गर्नुपर्नेछ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगिताको फाइनल २७ मंसिरमा हुनेछ ।प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति, भाङबारी स्पोर्टीङ युथ क्लब दमक झापा, मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जि्लिङ भारत, एएससी अर्जनधारा झापा, राजावास युथ क्लब सुनसरी, इलाम नगर खेलकुद प्रतिष्ठान इलाम, मिरमिरे याक्थुङ युवा क्लब तेह्रथुम र रेडस्टार विर्तामोड झापाको सहभागिता छ । विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचरलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६ औं शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

विगतका वर्षझैं यसवर्ष पनि धर्मगुरु लिङदेनको जन्मोत्सवमा फुटबल सहितविभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको आयोजक आत्मा–पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । आत्मानन्द कपमा फूटबलसहित, म्याराथुन, धनुषकाँण, छेलो, स्लो मोटरसाइकल दौड खेल संचालन हुनेछन ।
आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । धर्मगुरु लिङदेनको जन्मोत्सवमा वर्सेनी माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: