महागुरु फाल्गुनन्दका दश जीवन दर्शन - Sainokhabar

महागुरु फाल्गुनन्दका दश जीवन दर्शन

-आङ्बुहाङ अवोध अविरल

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन वि.सं. १९४२ कात्तिक २५ गते इलाम जिल्लाको साविक इभाङ चुक्चिनाम्बामा जन्मिनुभयो । वहाँको जन्म सामान्य किसान परिवारमा भएको थियो । महागुरु फाल्गुनन्दको बाल्यकाल गरीबी, अभाव र मातृ वियोगमा बित्यो । युवाअवस्था भारतीय सेनामा बित्यो । र, जीवनको उत्तरार्ध समाजमा आध्यात्मिक विकास, मानव सेवा, समाज सुधार र शिक्षाका निम्ति काम गर्दै बिताउनुभयो । वहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै राज्यले राष्ट्रिय विभूतिका रुपमा विभूषित ग¥यो ।

महागुरु फाल्गुनन्दले जीवन दर्शन र सिद्घान्तका कुनै ठूला पुस्तक लेख्नु भएको थिएन । तर, वहाँको कार्य, दिनुभएको सिवाखाहुन् र जीवन पद्घतिको अध्ययनबाट थुप्रै प्रेरणादायी जीवन दर्शनहरु भेटिन्छ । दर्शन अंग्रेजी शब्द ‘फिलसफी’ को नेपाली रुपान्तरण हो । अक्सफर्ड डिक्सनरीका अनुसार दर्शन ‘जीवनबारे विश्वासहरु वा दृष्टिकोणहरु हुन् जसले कसैको जीवनलाई मार्गनिर्देश गर्दछन् ।’ अर्को शब्दमा ‘ज्ञानको खोजीबाट प्राप्त जीवन र ब्रहमाण्डबारे विश्वासनै दर्शन हो । फाल्गुनन्दको जीवन र जगतलाई हेर्ने, चिन्ने र बुझ्ने विश्व दृष्टिहरु थिए । जसले आज लाखौं मानिसको जीवनलाई मार्गनिर्देश गरिरहेको छ । फाल्गुनन्द दर्शनलाई मुख्यतय निम्न बुँदाहरुमा उल्लेख गर्न सकिन्छ ।

१. शान्ति

शान्ति र अहिंसा महागुरु फाल्गुनन्दका मुख्य जीवन दर्शन थिए । महागुरु फाल्गुनन्द वि. सं. १९६४ मा अंग्रेजको गोर्खाली पल्टनमा भर्ना हुनभयो । वहाँले १२ वर्ष फौजी जीवन बिताउनु भयो । वि. सं. १९७१ साउन १३ मा पहिलो विश्वयुद्ध भई १९७५ कात्तिक २६ समाप्त भयो । पहिलो विश्वयुद्धमा महागुरु फाल्गुनन्द ब्रिटिस गोर्खा सेनामा कार्यरत हुनुहुन्थ्यो ।

प्रथम विश्वयुद्धताका महागुरु फाल्गुनन्द ‘ध्यानी हवल्दार’को रुपमा परिचित हुनुहुन्थ्यो । युद्धका एकदिन आफ्ना सिपाईहरुलाई भन्नुभयो, ‘हेर! दुश्मन भनिनेहरु पनि हामी जस्तै मानिस हुन् । तर, हामीले सरकारको नूनपानी खाएको छौं, नुनको सोझो गर्नुपर्छ । गोली कि आकाशतिर कि भुँइतिर हान्नु । माङलाई सम्झनु । सत्य र धर्ममा बसियो भने मरिंदैन।’ महागुरु फाल्गुनन्द युद्धको शान्तिपूर्ण समाधानका पक्षमा हुनुहुन्थ्यो । वहाँ हिंसा चाहनुहुन्न थियो । महागुरु फाल्गुनन्द शान्ति चाहनुहुन्थ्यो ।

पहिलो विश्वयुद्ध त्यसबेलासम्मको सबैभन्दा ठूलो युद्ध थियो । महागुरु फाल्गुनन्द युद्धले पैदा गरेको हिंसा, नरसंहार, रक्तपात, विधंस, बलत्कार, वियोग र विनासबारे साक्षात्कार हुनुभयो । वि.सं. १९७६ मा पल्टनबाट फिर्नु भएपछि वहाँले शान्ति र अहिंसाका पक्षमा वकालत गर्नुभयो । ‘लायो निङवारे आमेक्लो’ भन्ने महागुरु फाल्गुनन्दको उपदेश थियो । अर्थात् ‘अपराधिक सोंचले नाश होइन्छ ।’ द्वन्द्वको हिंसात्मक प्रस्फुटन युद्ध हो । युद्धको वीज मान्छेको मनबाट उत्पन्न हुन्छ । मानिसको मनमा उत्पन्न विकारबाट युद्धको बीजारोपण हुने वहाँको बुझाई थियो । सत्ता, शक्ति, सम्पत्ति, प्राकृतिक स्रोत साधन र सुन्दरी प्राप्तिको क्षुद्र लालचका कारण देशहरुबीच, व्यक्तिहरुबीच द्वन्द्व सिर्जना हुन्छ । शोषण, दमन र विभेद्ले समाजमा द्वन्द्व र युद्ध भइरहेका छन् । यस्ता द्वन्द्वहरुले विकराल रुप लिएपछि युद्ध हुन्छ । युद्धले शान्ति बिथोल्छ ।

फाल्गनन्दले नेपाल, भारत, भुटान र बर्मा पुगेर विश्व शान्ति र अहिंसाको सन्देश छर्नुभयो । समाजमा द्वन्द्व, मारकाट, लडाई—झगडाको कारक तत्वको खोजी गर्नुभयो । अधिक मद—मदिराको सेवन, अशिक्षा र राज्यद्वारा अधिकारको असमान वितरण द्वन्द्वका कारणको रुपमा पाउनुभयो । शान्ति मानिसको आत्मिक शुद्धिकरणबाट हुने महागुरु फाल्गुनन्दको धारणा थियो ।

२. अहिंसा

महागुरु फाल्गुनन्दले अहिंसामा जोड गर्नुहुन्थ्यो । ‘अरुलाई मार्न वा दुखाउनुका निम्ति गरिने हिंस्रक व्यवहार’ हिंसा हो । हिंसा शारीरिक र मानसिक दुवै रुपमा गरिन्छ । समाजमा घरेलु, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिकलगायतका हिंसाहरु हुने गर्दछन् । यसका साथै समाजमा पशु हिंसा पनि गरिन्छ । महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९९८ साल बैशाखमा पान्थरको लब्रेमा पारित गरेको सत्यधर्म मुचुल्कामा बलिपूजा नगर्ने उल्लेख छ । मानिसले हजारौं वर्षदेखि मानव केन्द्रित संकथन (भनाई) निर्माण गर्दै आएको छ । मानिसले आफूलाई सर्वश्रेष्ठ प्राणीको रुपमा व्याख्या गर्ने गर्दछ । अन्य प्राणीहरुलाई तल्लो दर्जाका, पशु, आत्मा नभएको र विवेक नभएको प्राणीको रुपमा व्याख्या गर्दछ । धर्मदर्शन र विज्ञानले समेत मानिस र पशुबीचमा ‘हाइरार्की’ (सिढी) निर्माण गरेको छ । पशु तल्लो दर्जाको प्राणी भएकाले मार्न, खान र बली दिन हुन्छ भन्ने मान्यता हजारौं वर्षदेखि चल्दै आएको छ । मानिसले आफ्नो मनोकांक्षा पूरा होस् भने पशुबली गर्दछन् । महागुरुले पशुबलीलाई जीव हिंसाका रुपमा व्याख्या गर्दै समाजले निर्माण गरेको हाइरार्कीलाई भत्काउनु भएको छ । वहाँका अनुसार मानिस र पशु सबै माङका सन्तान हुन् । आफ्नै सन्तानलाई मारेर चढाउँदा माङ बेखुशी हुने वहाँको तर्क थियो ।

सामाजिक, सांस्कृतिक विभेद र शोषण पनि हिंसाकै रुपमा लिइन्छ । समाजमा महिलालाई दोस्रो दर्जाका बनाउन पुरुषले विभिन्न धार्मिक—सांस्कृतिक रीति, थिति र कानून निर्माण गर्दछ । पुरुष प्रधान समाजले धार्मिक मान्यता र सांस्कृतिक थितिहरुका माध्यमबाट महिलालाई हजारौं वर्षदेखि विभेद र शोषण गर्दै आएको छ । समाजका यस्ता हिंसालाई अन्त्यका निम्ति सत्यधर्म मुचुल्कामा छोरी चेलीको सोतरीत नखाने उल्लेख गरिएको छ । यसले महिलालाई विभेद गर्न बनाइएको सबै सांस्कृतिक माखेसाङलो तोड्नु पर्ने सन्देश दिएको छ ।

३. समानता

महागुरु फाल्गुनन्दलेसत्यधर्म मुचुल्काको माध्यमबाट मानवता र समानताको विषयलाई अघि बढाउनुभएको थियो । मुचुल्काले समाजमा लिङ्गीय, जातीय र भाषिक विभेद अन्त्यको परिकल्पना गरेको छ । सत्यधर्म मुचुल्काको पहिलो बुँदामा मुचुल्कामा ‘छोरी चेलीको सोतरीत लिन बन्द गर्ने’ उल्लेख गरेको छ ।

संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान छन् । पुरुष प्रधान संरचनाले महिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा स्थापित गर्दै विभेद गर्दछ । महिलालाई कमजोर र दोस्रो दर्जामा राख्न कानुन, संस्कृति र परम्पराहरु निर्माण गरिन्छ । नारीवादी लेखिका सिमोन दि विभू उनको पस्तक द सेकेण्ड सेक्स मा विवाहको माध्यमबाट महिलालाई पुरुषको दास बनाउने वैधानिकता प्रदान गर्ने दाबि गर्छिन् । छोरीले विवाहपछि ‘श्रीमानको थर, धर्म, वर्ग…पुरुषको अर्धाङिगनी’ बनाइन्छ । छोरालाई जग्गा–जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मानिन्छ । तर, छोरीको विवाहमा सोतरीतका नाममा ‘सुन, चाँदी, नगद, मदिरा, तथा मासुका कोशेली लिनुलाई नारीको विक्रीको’ रुपमा मुचुल्काले व्याख्या गरेको छ । छोरा र छोरीलाई शिक्षा र समान हक हुनु पर्नेमा वहाँको जोड थियो ।

भाषिक—सांस्कृतिक विभेद र शोषण मानवता विरोधी कार्य भएको वहाँको ठम्याई थियो । राज्यले सबै जातिको धार्मिक, सांस्कृतिक मूल्यमान्यतालाई समान व्यवहार गर्दैन थियो । मुलुकमा बोलिने सबै भाषालाई समान हैसियत र व्यवहार राज्यको थिएन । सबै नागरिकलाई शिक्षाको अधिकार थिएनन् । शासकले मान्ने धर्मलाई राष्ट्रिय धर्म र उसले बोल्ने भाषालाई राष्ट्रिय भाषा मान्ने चलन संसारमा थियो, छ । मुलुकका सबै धर्म, जाति र भाषालाई राज्यले समान रुमपा व्यवहार गर्नु पर्दछ भन्ने वहाँको धारणा थियो । सत्यधर्म मुचुल्कामा मातृभाषामा शिक्षा दिने विद्यालय खोल्ने उल्लेख छ ।

सबै मानिसलाई मानवका रुपमा हेर्न, चिन्न र व्यवहार गर्नु पर्दछ भन्ने महागुरु फाल्गुनन्दको धारणा थियो । मानिसले धर्म, जाति, लिङ्ग र वर्गका आधारमा शीर निहुर्याएर बस्नु पर्ने अवस्थाबाट समाजलाई माथि ल्याउनु पर्छ भन्ने वहाँको जोड थियो । समाजमा सबै मानिसले शीर ठाडो पारेर हिड्न सक्ने वातावरण भए मात्र सबैको शीर ठाडो हुने वहाँको धारणा पाइन्छ । त्यसका निम्ति समाजका सबै खालका विभेदको अन्त्य हुनपर्ने वहाँको मत थियो ।

४. मानवता

महागुरु फाल्गुनन्दले जीवनको पछिल्लो ३० वर्षको अधिकांश समय विरामी तथा दुःखीहरुको सेवामा बिताउनुभयो । दुःखीहरुको सेवा गर्नु वहाँको मानवता प्रतिको श्रद्धा थियो । पल्टनमा आधुनिक औषधिले निको नभएका विरामीलाई मुन्धुमी विधि र जडिबुटीद्वारा उपचार गर्नुभएको कुरा हेमबहादुर गुरुङ र कुलानन्द दाहालद्वारा वि. सं. २०२३ मा प्रकाशित ‘महागुरु फाल्गुनन्द जीवनी’ मा उल्लेख भएको पाइन्छ । धामी, झाँक्री, ‘या’ फेदाङमा, साम्बा र अस्पतालले निको पार्न नसकेका अनेकौं विरामीहरुलाई महागुरु फाल्गुनन्दले निको पारेको घटनाबारे थुप्रै पुस्तक, लेख र किमदन्ती पढ्न र सुन्न पाइन्छ ।

नेपाल, भारत, भुटान र वर्माका विभिन्न स्थानमा पुगेर विरामी तथा दुःखीहरुका निम्ति माङसेवा तथा जडीबुटीबाट उपचार गर्नुभयो महागुरुले । वि. सं. २००१ मा काठमाण्डौंका जनरल विक्रम शमसेर जबरालाई र उनकी श्रीमतीलाई उपकार गर्न महागुरु फाल्गुनन्दलाई दरबारमा बोलाइएको वहाँको जीवनीमा उल्लेख छ । वहाँलाई ‘पूर्वी लिम्बुवान पल्लो किरातमा एकजना तपस्वी लिम्बू ठूला गुरु’ भनेर लिन एक सिपाई पठाइएको थियो । महागुरु दरबार पुगेर उनीहरुको उपकार गर्नुभयो, उनीहरु निको भए । महागुरुले दुःखीका निम्ति निशुल्क सेवा गर्नुहुन्थ्यो । वहाँलाई जनरलले ‘उपकार वापत ५०० रुपैयाँ भेटी राखि विदा दिन खोज्दा आफूले उपकार वापत कहिल्यै रुपैया पैसा लिने नगरेको’ बताउनुभयो । वहाँको मृत्युको अन्तिम पलसम्म पनि दुःखी र बिमारीको उपकार र सेवामै बितेको थियो ।लामो समय बिराम भएका विरामीहरु वहाँले उपकार गरेपछि सजिलै निको हुन्थे । महागुरु फाल्गुनन्द जहाँ पुगे पनि विरामीको लाइन लाग्थे । वहाँ आफैमा योग साधनाबाट माङगेप्मा (निर्वाण) गर्नुभएको थियो । योग विज्ञानका अनुसार योग साधनका माध्यमबाट आफूभित्र रहेको अतभूत शक्तिलाई कुनै अंगमा केन्द्रीत गर्न सक्छन् । यसरी शरीरको कुनै अंगमा केन्द्रीत गरेको विरामीलाई उपचार गर्न सकिन्छ । यसलाई ‘रेकी’ भनिन्छ । गौतम बुद्ध र फाल्गनन्द विरामका अगाडि गइदिए पनि विरामी निको हुने गरेको सुन्न, पढ्न पाइन्छ । महागुरु फाल्गुनन्दबाट हामीले सिक्नु पर्ने कुरा मानव सेवा हो ।

५. एकता

महागुरु फाल्गुनन्दले ‘थिक पोङमारे तोवाबेओ नाम लिङ’ भन्ने उपदेश दिनुभएको थियो । एकताले भाग्योदय हुने वहाँको मत थियो । महागुरु फाल्गुनन्दलाई विभाजन र क्षुद्र स्वार्थका कारण ठूला मुलुकहरु युद्धमा फस्दा भएको प्रथम विश्वयुद्धले विध्वंस र विनाश निम्त्याएको थाहा थियो । आफ्नै किरात समाजमा भएको आपुङ्गी चरित्रका कारण गुमेको भूमि र अधिकारको बारेमा वहाँ जानकार हुनुहुन्थ्यो । विभाजन र भिडन्तले सफलता पाउन कठिन हुने वहाँको ठम्याई थियो ।

विश्व शान्ति र मानव एकताका निम्ति माङसेवा गर्नु महागुरु फाल्गुनन्दको नित्य कर्म थियो । मानिसमा सबै मानिस समान हुन् भन्ने भावना विकास भए मानव एकता हुने वहाँको धारणा पाइन्छ । मानिसलाई जात, धर्म, लिङ्ग र आस्थाका आधारमा विभेद गरिनाले मानवमा द्वन्द्व र असमानता सिर्जना भइरहेको थियो । मानिसमा रहेको जातीय, लिङ्गीय र वर्गीय विविधतालाई आत्मसाथ गर्दै सबै मानिस माङका सन्तान हुन्, मानव हुन भन्ने भावनाबाट एक हुनुपर्ने तर्फ वहाँको चिन्तन देखिन्छ ।

६. शिक्षा

समाजको पछौटेपन र अज्ञानताका कारणको रुपमा ‘अशिक्षा’ रहेको महागुरु फाल्गुनन्दले थाहा पाउनुभयो । महागुरु फाल्गुनन्दको पहलमा वि.सं. १९८८ बैसाक २४ गते शुरुभएको लिम्बुवान क्षेत्रका प्रशासनिक प्रमुख सुभा, सर्वसाधारण, भक्तजन र तुम्याहाङहरुको भेलाले सात बुँदे सत्यधर्म मुचुल्का निर्माण ग¥यो । मुचुल्कामा युमा माङहिम स्थापना गर्ने तथा मातृभाषामा शिक्षा दिन स्कूल खोल्ने उल्लेख गरेको थियो । त्यसबेला विद्यालयहरु खोल्न सहज थिएन । माङहिमहरुमा मुन्धुम शिक्षा लिने व्यवस्था गर्नुभयो । मुन्धुम पठन—पाठनका माध्यमबाट हजारौं भक्तजनलाई साक्षर भए ।

महागुरु फाल्गुनन्दले नेपालमा मातृभाषाको विषय उठान गर्नुभएको समयमा आम नागरिकका निम्ति शिक्षा लिने व्यवस्था थिएन । राणा शासकहरुले अंग्रेजी र संस्कृत भाषामा शिक्षालाई जोड दिइरहेका थिए । हाल ‘मातृभाषामा शिक्षा’ का मुद्दा शिक्षा क्षेत्रको जल्दो—बल्दो विषय हो । नेपालले ‘मातृभाषाको माध्यमबाट आधारभूत तथा प्राथमिक शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने नीति तय गरेको छ । मातृभाषामा शिक्षा दिँदा सिकाई उपलब्धि राम्रो हुने निष्कर्ष संसारभरका शिक्षाविदहरुले निकालेका छन् । ‘नेपालको संविधान’ धारा ३१ ले मातृभाषामा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरेको छ । यसले महागुरु फाल्गुनन्दको शिक्षासम्बन्धि दूरदृष्टिलाई स्पष्ट पार्छ । .

७. प्रकृति पूजा

प्रकृतिसँग विवेकपूर्ण अन्र्तक्रियाले मात्र मानव अस्तित्व संम्भव भएको महागुरु फाल्गुनन्दको धारणा थियो । वहाँले हिमाल, डाँडा, खोला, जंगल, ओढार र मैदानहरुमा माङसेवा गर्नुहुन्थ्यो । यसैक्रममा वहाँले नेपाल, भारत, भुटान र वर्माका सयौं स्थानहरुमा सेवा लाउनुभएको कुरा विभिन्न लेख र पुस्तकमा उल्लेख भएको पाइन्छ । महागुरु फाल्गुनन्द हिमाल, डाँडाकाँडा र खोलानालालाई माङको पवित्र स्थानको रुपमा सम्बोधन गर्नुहुन्थ्यो । किरात साम्जिक मुन्धुममा वहाँले विभिन्न पवित्र हिमालहरु ‘फक्ताङलुङ’(कुम्भकर्ण), ‘सेसेलुङ’ (कञ्चनजंगा), डाँडाकाडा ‘मुक्कुमलुङ’ (पाथिभरा), ‘सिरिङचोक’, ‘यासक’, खोलानाला ‘इम्बिरी’ (तमोर), ‘काङवामा’ (काबेली) लगायत उल्लेख गरिएको छ । प्रकृतिका सबै तत्वहरुलाई माङको अंशका रुपमा सम्बोधन गर्ने गर्नुहुन्थ्यो । यसले खोलानाला, हावा पानी, हिमाल, पहाड र समथर भूमिलाई सफा सुग्घर र संरक्षण गर्नुपर्नेमा फाल्गुनन्दको जोड रहेको स्पष्ट पार्छ ।
महागुरु फाल्गुनन्दले खानेपानीको स्रोत नभएको विभिन्न स्थानमा पानी उमार्नुभयो, कुवाहरु खन्नुभयो । वि.सं. १८८४ मा पान्थर लब्रेमा माङसेवा गरी पानी माग्नुभयो, कुवा खन्नुभयो । सो निपानी जग्गामा पानीको मुहान फुट्यो । मुहान संरक्षणका निम्ति लब्रेको सयौं रोपनी जग्गामा विरुवा लगाउनुभयो । महागुरु फाल्गुनन्दले अन्य धेरै स्थानमा पानी उमार्नुभएको पाइन्छ । पान्थर रविको मुढेमा साधु गुफा माडे चौर’, इलाम जितपुर पारीगाउँ वि.सं. १९८० मा र १९८५ मा इलाम माङमालुङ छेउ तीनचुलेमा पानी उमार्नु भएको छ । यसैगरी १९८६ पान्थर कुरुम्बा १, सिक्तेम्बाको थोक्पेत्चम्मा सानु डाँडामा र १९९४ इलामकै इभाङ चिम्भुवामा पानी उमार्नुभएको उल्लेख छ ।

महागुरु फाल्गुनन्दले उमार्नु भएको पानी आजसम्म पनि प्रयोग भइरहेको छ । निपानी जग्गामा पानीको मुहान फुटाउनुमा वहाँमा भूमिगत पानीका स्रोतबारे विशेष ‘आत्मपहिचान’ थियो । रुख नकाट्ने भनेर स्थानीयलाई मुचुल्का गराउनुहुन्थ्यो । लब्रे शुरुमा नाङगो डाँडाको रुपमा रहेका थियो । महागुरु फाल्गुनन्दले दार्जिलिङको भूसपाते र नेपालका विभिन्न स्थानबाट विरुवाहरु ल्याएर वृक्षारोपण गर्नुभयो । सो स्थानको विरुवा नकाट्न एउटा सत्यधर्म मुचुल्का बाँध्नुभयो । जंगल बढेपछि पानीको स्रोत बढ्ने भयो ।

८. शाकाहारी जीवन पद्धति

शाकाहारी जीवन पद्धति धारण गर्नु महागुरु फाल्गुनन्दको जीवनको एक महत्वपूर्ण पाटो हो । वहाँले जीवनमा शाकाहारी जीवन पद्धति अंगाल्नु भयो । जाँड, रक्सी र मासु—मंस सेवन जीवनको दैनिकी र संस्कृतिको रुपमा अनुसरण गरेको लिम्बू समुदायमा जन्मनु भएको वहाँले यो खाले जीवन पद्धतिका थुप्रै असरहरु देख्नु भएको थियो । परिवार र गाउँ घरमा दैनिक जस्तो देखिने झै—झगडाको मुख्य कारण जाँड रक्सीको सेवननै थियो । माङसेवाहरुमा बलीपूजा गर्ने, विवाह, चारकरलममा सोतरित लिनेदिने र फःजेमा सुँगुर, कुखुरा, बाख्रा, भैसी मार्नु पर्ने चलन थियो । त्यसका निम्ति लिम्बूहरुले किपट भूमि विक्री वितरण गर्नु पर्ने बाध्यता भएकाले लिम्बूहरुले आफ्नो पैतृक भूमि सक्दै गइरहेको थियो । अर्कोतर्फ जाँड, रक्सी र मासु मंसको सेवन स्वास्थ्यका निम्ति हानिकारक थिए ।

सत्यधर्म मुचुल्कामा शाकाहारी जीवन पद्धतिमा जोड दिने उल्लेख छ । मद मदिरा सेवनले व्यक्ति र समाजको स्वास्थ्यमा नकरात्मक असर पार्ने र मानिसको औसत आयूमा कमी आउने वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएको छ । मांसाहारी भोजनका कारण उच्च रक्तचाप, क्यान्सर लगायतका प्राणघातक रोग बढेको बताइन्छ । पछिल्लो समय वैज्ञानिकहरुको अध्ययनका अनुसार मांसाहारी खानपानले विश्वमा तापक्रम वृद्धिमा सहयोग गरिरहेको छ । मासु उत्पादनका निम्ति पशुलाई खुवाउन वन विनास गर्नुपर्ने र मांसाहारी खानाबाट उत्पन्न हुने तापले पृथ्वीको तापक्रम समेत बढाएको छ ।

महागुरु फाल्गुनन्दले ‘चामेन्लो सा लायो रक था’ भन्ने उपदेश दिनुभएको थियो । मासु खानको निम्ति अर्को प्राणीलाई मार्नु पर्ने भएकोले अर्काको ज्यान मार्ने काम अपराध हुने वहाँको दाबि थियो । मानिसको सोंच, विचार, चिन्तन र व्यवहार उसको खानपान र वातावरणले प्रभाव पार्दछ । शाकाहारी खानपानले मानिसको मन स्वच्छ र पवित्र राख्न सहयोग गर्दछ ।

९. अध्यात्मिकता

अध्यात्मिक चिन्तन महागुरु फाल्गुनन्दको जीवनको एक महत्वपूर्ण पाटो हो । वहाँ आजीवन अध्यात्मिक चिन्तनमा तल्लीन हुनुभयो । महागुरुको बाल्यकामानै माङसँग साक्षात्कार गर्नुभयो । मानिसमा माङप्रतिको आस्था, अनुशासन, उच्च नैतिकता, दया, माया र प्रेमभाव विकास गर्न वहाँ लागि पर्नुभयो । अध्यात्मिकता आत्म र अदृश्य माङ शक्तिप्रतिको विश्वास हो । अध्यात्मिकताले नैतिकता, दया, माया, प्रेम, स्नेह र मानवता विकासमा सहयोग गर्दछ ।
महागुरु फाल्गुनन्दको जीवनकालमा पश्चिमा मुलुकहरुले तिव्र भौतिक विकास गरिरहेका थिए । जसको परिणाम स्वरुप मानव समुदायले थुप्रै भौतिक सुविधाहरु भोग गर्न पायो । इमेल, इन्टरनेट, मोवाइल, कम्प्युटर, गाडी, जहाज आदि यसका उपज हुन् । भौतिक सामग्रीले मानिसलाई सुविधा दियो तर आत्मा शान्ति दिन सकिरहेको छैन् । भौतिक सुविधाका नयाँ सुविधाका भोकहरु सिर्जना गरिरह्यो । मानिसमा सदा नयाँ आवश्यकता सिर्जना भइरहेका छन् । मानिसहरु सुविधाका भोकहरु पूरा गर्ने जे पनि गर्न पछि नपर्ने भएका छन् । भौतिकवादले मानिसहरुलाई यान्त्रिकरण गरिदियो । जसले मानवता र नैतिकता संसारबाट हराउँदै गएको छ । कतिपय साहित्यकारहरु आज पश्चिमा मुलुकहरुमा अध्यात्मिकताको खडेरी आएकोमा गहिरो चिन्ता व्यक्त गर्दछन् । विश्व स्वास्थ्य संगठनले पूर्ण रुपमा स्वास्थ्य रहन मानिसमा शारीरिक, मानसिक, सामाजिक स्वास्थ्य हुनका साथै अत्यात्मिकताको विकास हुन पर्ने बताएको छ ।

१०. लोकतन्त्र

लोकतन्त्रप्रति महागुरुको विशेष आस्था रहेको थियो । वहाँले शिक्षा, संस्कार, संस्कृति, धर्म र मुन्धुमका विषयमा एउटा ठूलो चुम्लुङ गर्नुभयो । महागुरुले लबे्रेमा चुम्लुङ सञ्चालन भइरहेको बेला मुलुकमा चरम निरंकुश राणा शासन थियो । राणा शासकहरुको बोलीनै त्यतिबेलाको कानून हुने गर्दथ्यो । राज्यलाई बाहेक अरुलाई सभा, सम्मेलन गर्ने छुट थिएन । त्यसबेला वहाँले चुम्लुङबाट ‘सत्यधर्म मुचुल्का’ निर्माण गरेर लोकतान्त्रिक अभ्यास गर्नुभयो । महागुरुले वि. सं. १९९० को एकदिन ताप्लेजुङ निगुरादेन चिलिङसेमा चेलाहरुलाई ‘हाङले चिहोत्, चिहोत् केमेत्तीबेन् आनिङवाबेले मेखोप्तुन्’ भन्नुभयो । वहाँले भन्नुभएको थियो—राजाले गरेको शोषण, दमन मैले सहन सकेको छैन् । महागुरुले भन्नुभएको थियो, ‘हाङिले केफितिगर थिक्यान, नियान युङ मेनगर पेक ।’ राजाले तिमीलाई हेरे केही दिन बस्छ, नत्र उनको शासन ढल्छ ।

अन्त्यमा

महागुरु फाल्गुनन्दलाई हेर्ने, चिन्ने, बुझ्ने र व्याख्या गर्ने अनेक दृष्टिकोण विकास भएका छन् । महागुरुले दर्शनबारे छुट्टै पुस्तक लेख्नु भएन । वहाँले दर्शनलाई प्रवचन र पुस्तकमा होइन, व्यवहारमा देखाउनु हुन्थ्यो । वहाँको भोगाइ र सोंचाईबारे वहाँका चेलाभूलाले सुनाइएका अनेक विवरणबाट हामी वहाँको जीवन दर्शन के हो भन्नेबारे एउटा निष्कर्षमा पुग्न सक्छौं । वहाँका दर्शन कुनै जाति वा सम्प्रदाय विशेष नभएर सिंगो मानव समुदायका लागि उपयोगी छन् ।

– माङ्सेबुङ न्युज अनलाइन

सम्बन्धित खवर

%d bloggers like this: