कविताः ऐलानी मेटामोरफोसिस - Sainokhabar

कविताः ऐलानी मेटामोरफोसिस


धनराज लावती

बिहानै भालेको डाकमा बिउझनु
छोराछोरीलाई ओछ्यानमै छोड्नु
अनि हलो(जुवा काधमा राखेर
हल गोरुसगै मेलोमा पस्नु
मर्निङ वाकमा निस्कनु जस्तो थिएन
रामभरोसको दिनचर्या ।

जब खेतबारीमा उसको पेटको संघर्षलाई
छड्के घामको तापले पगाल्थ्यो
अनुहारको मैला पसिनाले पखाल्थ्यो
अनि ढाडले आरामको जिद्दी गर्थ्यो,
ओठले खुइ…य बजाउथ्यो
तब आइपुथ्यो उसको देशी फ्राइडराइस वा पपकर्न
ब्रेकफास्ट बनेर ।

यसरी
दिन हप्ता, महिना वा वर्ष मात्रै होइन
युगौ बिताएको प्रमाण छ उ सग

पहिलो त
तिमी सोध्न सक्छौ यै माटोलाई
जसले अझै पनि उसको पुर्खाको कंकाललाई
आफ्नो छातीमा टासेको छ ।
दोस्रो,
सोध्न सक्छौ यी बोटविरूवाहरूलाई
जसले उसको गरम पसिना सोसेर
उसैलाई बार्हैमास सितलता दिइरहेको छ ।
हो ! उसग कुनै लिखित प्रमाण त छैन
तर अझैपनि तिमीले खोज्दै गयौं भने
खेतका गर्हाहरूमा उसका पुर्खाहरूले छोडिआएको
बूढो ठुटा वा जरा भेट्न सक्छौ
जुन अक्सर हलो जोत्दा उसको फालीमा अल्झन्थ्यो ।

अहिले उसलाई यति थाहा छ
लोकतन्त्र गाउँमा छिरेदेखि हो
डोजरले उसको जमिनको आरिस गर्न थालेको
ठुलो बाटो खोजेको, पक्की प्लटिङ मागेको
तर कसलाई थाहा छ र ? जब उसले
छोरालाई बिदेश पठाउन, बैंकले ऋण नदिएको
छोरीलाई दहेज दिन, सहकारीले विश्वास नगरेको ।
सबथोक भएर नि रामभरोस केही नभए जस्तो
आफ्नै जमिनको मालिक मै हु भन्न नसकेको ।

आजभोलि
गाउँमा सुकुम्बासी बिस्थापितको हल्ला चलिरहदा
ऐलानी जग्गा कब्जाबारे समाचार रेडियोमा सुनिरहेका
रामभरोस यो सोचिरहेको छ कि
युगैदेखि उसको पुर्खाले भोग्दै आएको भूमि
आज कसरी अर्कैको नाममा हुनसक्छ ?
आखिर यो जमिनको लालपुर्जा
कसरी उसको पुर्खाभन्दा पुरानो हुनसक्छ ?

धेरै सोचबिचार पछि रामभरोस
आफ्नो जमिन किन्ने ग्राहकको खोजीमा
सबेरै घरबाट निस्कन्छ अरे
कतै भेटिहाल्यौ भने
त्यो तिम्रै जमिन हो भन्दिनु ।।

सम्बन्धित खवर

%d bloggers like this: