प्रतिपक्ष - Sainokhabar

प्रतिपक्ष

अमित याक्थुङबा मिहाङ

आज
अँध्यारो छ सर्वत्रै !

———

सप्तरङ्गी इन्द्रेणी पनि खुइलिएको छ
सूर्जे डढेर कालो, जून निलो भएको छ
फूलको बगानभरि ‘अफ्रिका’को रङ्ग पोतिएको छ
ग्रहणले छोपिएको छ सारा धर्ती

———

सबै यतिबेला
मध्य चोकमा उभिएर कालो चिया सुरुप्प सुरुप्प पार्दैछौं…….. ।

———

पाखुरामा खिपिएको पुरानू ट्याटु छोप्ने गरी कालोपट्टी बाँधेका छौं
फूलबुट्टे रूमाल खल्तीभित्र राखेर निक्खर कालै कपडाको झण्डा फर्फराउँदैछौं
एकपछि अर्को तारापुञ्जहरू निल्दै गरेको ब्ल्याकहोललाई हेरिरहेका छौं
कालो एक्रेलिकमा कूची चोबलेर कालै क्यानभासमा हाम्रो चित्र कोर्दैछौं
बत्ती निभाएर ट्रान्सम्यूजिक बन्द गरेर ब्लूजमा रमाइरहेका छौं
हामी पत्थर कोइलासँग साक्षात्कार गरिरहेका छौं
कागको पखेटा र चुच्चोलाई अरू बेलाभन्दा बढी नियालिरहेका छौं
तथापि,
एउटा गज्जबको विष्फोटनको प्रतीक्षामा छौं
सबै चिरेर आकाशबाट उज्यालोको वर्षा हुने समयको पर्खाइमा छौं

———

यतिबेला भने
अँध्यारो छ सर्वत्रै !

———

कालो दिनको सम्झनामा पुरानू पङ्क्तिहरू’ (२०७२ असोज)

सम्बन्धित खवर

%d bloggers like this: