पाण्डे भर्सेज यादवः एक पहेँली - Sainokhabar

पाण्डे भर्सेज यादवः एक पहेँली

अमित थेबे मिहाङ

“तिमीले भनेका कुराप्रति मेरो असहमति छ । तर, तिम्रो मप्रति असहमत हुने अधिकारको रक्षा गर्न अन्तिम श्वाससम्म लडिरहनेछु ।“
-भोल्टेयर

नेपाली समाजमा शक्ति उन्माद कस्तो हुन्छ । त्यो बुझ्न तीन मान्छेहरूलाई हेर्नु पर्छ । सेना, प्रहरीको रिकुटे तालिम लिइसकेपछिको युवा । राजनीतिक पार्टीको साधारण सदस्यता लिइसकेपछिको कार्यकर्ता । र, मिडिया या आधारभूत पत्रकारिता तालिम लिइसकेपछिको व्यक्ति । मान्छेमा बेग्लै तुजुक देखा परिहाल्छ । विश्व विजेता बनेको भान हुन थाल्छ । भुइँ र पृष्ठभूमि छाड्न थाल्छ । यस्तो लाग्दो हो उनी अविजित छन् । टक्कर दिने कि धूलो हुन्छन् कि निहुरिन्छन् ।

नेपाली समाज र यसका इञ्जिनहरू कति बेलगाम भएका छन् । मिडिया क्षेत्र हेरे पुग्छ । ०४६ को जनान्दोलनपछि सबैभन्दा फस्टाएको क्षेत्र र उद्योग हो ( सञ्चार । रेडियो, एफ्.एम्., टीभी, ब्रोडिसट पेपर मात्रै होइन अहिले सामाजिक सञ्जाल, युट्युब, ब्लगिङ, भ्लगिङ, पोड कास्टसम्मको सँस्कृतिले मानव जीवन जेलिएको छ । सूचना, जानकारी र ज्ञानले धेरै अर्थमा परनिर्भर समेत ।

——–

बौद्धिक विनिमयका लागि छापा या विद्युतीय माध्यममा लिइने दिइने अन्तर्वार्ताहरूलाई वैचारिक मन्थनको कामका लागि राम्रो स्रोत मानिन्छ । तर, पछिल्लो समययता मिडियाको इथिक्स र इन्टिग्रिटिलाई वहन गर्न सक्ने दूतहरू दुर्लभ हुँदै गएको महसुस हुन्छ । द्रुत विश्वमा धेरै मानिसहरू मानसिक रोगबाट पीडित छन् । ब्लड प्रेसर, तनाव, मानसिक अस्थिरता भएकाहरूका लागि टीभी, अनलाइन र छापाका सामग्रीहरू थप डिप्रेसनमा लाने प्रकृतिका मात्रै छन् । पूँजीवादी उपभोक्तावादी सँस्कृति यति गहिरोसँग अन्तर्घुलित छ । विकल्पका अनेक द्वारहरू छन् । तर, प्रवेश जहाँ गरे पनि अस्वस्थकर र कष्टप्रद ।

एभिन्यूज टीभीमा प्रस्तोता सुशील पाण्डे र बहालवाला उपप्रधानमन्त्री उपेन्द्र यादवबीच भएको घम्साघम्सीलाई धेरै चस्माले हेर्न सकिन्छ । कम्युनिस्टको बहुमत सरकारको एक सारथी सपाने(पहिले संसफो,ने) हुन् । सामाजिक अपराध, भ्रष्टाचार, बेथिति, महङ्गी, काण्ड, प्रकरण, जनविरोधी क्रियाकलाप बढेको सत्य हो । हुन त यसअघि पनि रामराज्य देश भन्ने त थिएन । तर, स्वाभाविक जनअपेक्षासामु ओली प्रशासन र सरकार खरो नउत्रेकै हो । दुई तिहाईको बल नपुगिरहेको बेला पूरक सङ्ख्या र्पुयाउन सत्तारोहण गरेको समाजवादी पार्टी आफ्नो मूल एजेन्डा संविधान संशोधनको दिशामा नहिँडेर केही समय दायाँबायाँ अल्मलेकै हो । नैतिक रूपमा सरकारमा बसिसकेपछि पार्टीले गुण अवगुण सबैको अपनत्व लिनुपर्छ । भलै, सरकारमा सपानेभन्दा नेकपा बढी प्रभावशाली छ । सडक सङ्घर्षका उसका पहिचानवादी सारथीहरू त्यसैले पनि यादव र उनको पार्टीप्रति बढी नै लक्षित भएर प्रस्तुत पनि भइरहेका छन् । धान खाने मुसो चोट खाने भ्यागुतो भनेझैं संविधान जारी गर्दा दीपावली गर्ने पार्टीका नेताहरूले गरिरहेका श्रङ्खलाबद्ध गल्तीका भागेदार बत्ती निभाउने पार्टी हुनु परिरहेको छ ।

——-

विजय कुमार पाण्डेको ’दिशानिर्देश’, भूषण दाहालको ’फायर साइड’ वा दिलभूषण पाठकको ’टफ टक’ हेरिरहनेहरूलाई धमला, पाण्डे, वाग्लेहरू उन्मुक्त लाग्छन् । अझ, ३० औँ हज्जार अन्तर्वार्ता लिने सीएनएनका लेरी किङ, सङ्घर्षशील महिलाहरूका आदर्श ओप्रा विन्फ्रेका सो हेरेर मज्जा लिएर बस्नेहरूलाई सुशीलको शीलता र शालीनतामा खडेरी लागेझैं हुन्छ । बहस भनेको फौदरी होइन । कडा हुनुको अर्थ कब्जियतजस्तो जक्डिनु होइन । सिधा हुनुको अर्थ एकाङ्गी हुनु होइन । हरेक घटना र सन्दर्भमा दुई या अनेक पाटाहरू हुन्छन् । जुन शक्तिशाली पेशा मानिएको पत्रकारिता या मिडियाका मान्छेले भुल्नु हुन्न ।

सुशील पाण्डे प्रवृत्ति नेपाली मिडिया कहाँ नेर छ भन्ने जान्न एक प्रतिनिधिमूलक चरित्र हो । ज्ञान र चरित्र दुई फरक कुराहरू हुन् । मिडिया अध्ययनमा उच्च शिक्षा हासिल गर्न सकिएला । दशकौँ बिताएपछि अनुभवका आधारमा ’बरिष्ठ’ को ट्याग भिर्न पनि गाह्रो नहोला । तर, भोलि ज्ञानको पुस्तान्तरण गर्दा हामीले संस्थागत गर्दै लगेको चरित्र कमसल भए पेशाप्रतिको विकर्षण उत्कर्षमा पुग्छ ।

——-

मिडिया काउन्सिल र आउन लागेको विधेयक निसन्देह पूर्ण प्रेस स्वतन्त्रता र वाक् स्वतन्त्रताका लागि प्रिय चीज हुने छैन । राजनीतिक आस्थालाई एकातिर राखेर हेर्ने हो भने यो भयङ्कर खतरा प्रस्ताव हो । ’स्टेट सेन्सरसीप’ कानूनमार्फत् पेशामा कसरी छिर्दैछ भन्ने उदाहरण हो । पाण्डे चरित्रले राज्यलाई निरङ्कुश हुन झन् प्रेरित मात्रै गर्नेछ ।

अन्तर्वार्ता मूल कुरा मनोवाद होइन । दुई पक्षको समान सहभागिता हुनुपर्छ । सवालहरूको वर्षा मात्रै होइन जवाफ सुनेर श्रोता र दर्शकहरूको इन्द्रियहरूलाई ओभानो पनि हुन दिनुपर्छ । शिष्टता, धैर्यता, बौद्धिकताको प्रदर्शन अन्तर्वार्ता लिने र दिने दुवैले प्रदर्शन गर्नुपर्छ । धुर्मुस सुन्तलीदेखि रवि लामिछानेसम्म आइपुग्दा ’स्टारडम’ले राज्यको सामर्थ्यलाई गिज्याइरहेको छ । पाण्डेमा पनि सो उन्माद लुप्त हुन सक्छ । नेपाली समाज स्टन्ट र कर्तुतमा आत्मिक आनन्द लिने वर्ग हो । तर, कतिबेला ती ताराहरू भुइँमा झर्छन् । पत्तो हुन्न ।

————-

१४ मे, २०१९ ।

सम्बन्धित खवर

%d bloggers like this: