कोरियाप्रति युवाको आकर्षण बढ्दो, भाषा परीक्षाका लागि ८१ हजारको आवेदन - Sainokhabar

कोरियाप्रति युवाको आकर्षण बढ्दो, भाषा परीक्षाका लागि ८१ हजारको आवेदन


साइनो समचारदाता
काठमाडौँ । एसियाली मुलुक दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । यो बुधबार अपराह्न ५ बजेसम्मको अपडेट हो । उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार ९ सय ९७ र कृषि क्षेत्रतर्फ २५ हजार ८० जनाले आवेदन फारम भरेका इपीएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षा भने आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ ।
यस अघि सन् २०१८ को भाषा परीक्षाका लागि ८२ हजार २६४ ले आवेदन फारम भरेका थिए । चैत १७ गते राति १२ बजेसम्म आवेदन फारम भर्न सकिने छ । सन् १०१७ मा ६८ हजार ३८३ र सन् २०१६ मा ६० हजार ६२६ जनाले भाषा परीक्षामा सहभागिता जनाएका थिए ।

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा ४ लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । दक्षिण कोरियाले सन् २०२० का लागि उत्पादनमूलक क्षेत्रका लागि सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजाने घोषणा गरेको छ । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपीएस शाखाले जनाएको छ ।

सन् २०१९ को इपीएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कूल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ । भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालीम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ११० अङ्कको हुनेछ ।

सम्बन्धित खवर

%d bloggers like this: